स्थानीय शिव चोकमा राजपाका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ता सवार गाडी रोकेर त्यसमा लगाएको पार्टीको झन्डा र ब्यानर खोसेर जलाएका थिए। कांग्रेस नेता कार्यकर्ताहरु सवार रहेको गाडीमा लगाइएको झण्डा जलाउँदै राजपाका नेताहरुले प्रमुख दलहरुको विरोधमा चर्काे नाराबाजी समेत गरेका थिए। निर्वाचनको प्रचारप्रसार गर्ने खालका कुनैपनि क्रियाकलाप कतैबाट भयो भने त्यसको विरोध आफूहरुले गर्ने र अहिले झण्डामात्र जलाइएको र यदि चुनावप्रचार प्रसार रोकिएन भने प्रचारप्रसारमा प्रयोग हुने गाडीलाई समेत नियन्त्रणमा लिएर जलाइने चेतावनी राजपाका नेताहरुले दिएका छन्।
राजपाका धनुषा जिल्ला संयोजक परमेश्वर साहले आफूहरुले मधेसको माग पूरा नभएसम्म निर्वाचनको कुनै पनि गतिविधि हुन नदिने उद्घोष गरिसकेको समयमा यस प्रकार प्रचारप्रसार गर्दै हिडेपछि घटना भएको बताए।
उनले भने, ‘हाम्रा कार्यकर्ताहरुले गाडी रोकाएर झन्डा हटाउन मात्र भनेका थियौं तर कांग्रेसका कार्यकर्ताहरुले गाली गलौज गरेपछि आक्रोशित भएर झन्डा जलाइएको हो। झन्डा जलाउने क्रममा केही बेर सो क्षेत्रमा तनाव समेत सिर्जना भएको थियो। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो। शुक्रबार पनि सिरहाको गोलबजारबाट निर्वाचन प्रचारप्रसार सम्बन्धी सामग्रीहरु लिन जनकपुर आएका एक स्वतन्त्र उम्मेदवारको गाडीमा लगाइएको झन्डा खोसेर राजपाका कार्यकर्ताहरुले जलाएका थिए।
