शिक्षा कार्यालयकै कर्मचारीले धनुषाका सहायक शिक्षा अधिकारीलाई चप्पलले कुटे

प्रकाशित समय 6:02:00 PM
जनकपुर, ३ साउन । अवैद्य नीजी विद्यालयलाई कार्वाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन् ।
उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिल कुमार रायले बिना दर्ता संचालनमा रहेको विद्यालयलाई किन कार्वाहीको लागि पत्र काटेको भन्दै गालीगलौज गर्दै कार्याकक्षमै सोमबार झापड र चप्पलले हानेका हुन् । कार्यालयका अन्य कर्मचारीहरु सो ठाउँमा उपस्थित रहेको अवस्थामा रायले उपजिशिअ यादवलाई कुटपिट गरेपनि उनलाई हालसम्म कुनै कार्वाही भएको छैन् ।
बिना दर्तानै अवैद्य रुपमा सञ्चालनमा रहेका निजि विद्यालयहरुलाई नियन्त्रण गर्न उप जिशिअ यादबको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरि असार २५ गतेदेखी जनकपुर नगरक्षेत्रका विभिन्न विद्यालयहरुमा अनुगमन गरिएको हो । जस अन्तर्गत आईतबार सम्ममा ३३ वटा निजि विद्यालयहरुमा अनुगमन गरि बिना दर्ता र बिना कुनै पुर्वाधार सञ्चालनमा रहेका १२ वटा विद्यालयलाई बन्द गर्न निर्देशन समेत दिईएको हो । तर, यस्ता विद्यालयहरुसंग रकम उठाई जिल्ला शिक्षा कार्यालयकै कर्मचारीहरुले फर्जी संचालन पत्रहरु दिएको जानकारी समेत प्राप्त भएपछि अनुगमन टोलीका संयोजक यादवले अवैद्य विद्यालय संचालनमा जिशिकाका कर्मचारीहरुको मिलोमतो रहेको आशयको प्रतिवेदन तयार गर्ने थाहा पाएपछि कार्यालयका नासु राय आक्रोशित भएका हुन् । नासु रायले ५० हजार रुपैंया लिएर बसहियामा संचालित बिना कुनै भौतिक पूर्वाधार र बिना दर्ता संचालनमा रहेको शिवशंकर बोर्डिंग स्कुलको कागजात कानुन संगत रहेको र यसलाई किन बन्द गर्न निर्देशन दिएको भन्दै गालिगलौज गरि कुटपिट गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यता, उपजिशिअलाई कुटपिट गरेका नासु रायमाथि कार्वाही प्रक्रिया अघि बढाउनुको साटो जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले दुवै पक्षलाई मिलेर जान भन्दै घटनालाई ढाकछोप गर्ने प्रयास गरेका छन् । मंगलबार जिशिकामा बसेको कर्मचारीहरुको बैठकमा जिशिअ महतोले आफूलाईनै दोषि ठहराउंदै कुटपिट गर्ने कर्मचारी रायलाईनै बचाव गरेको उपजिशिअ यादवले बताए । उनले भने, नासु रायको माध्यमलेनै अवैद्य विद्यालयहरुबाट जिशिअ महतोले अवैद्य असुली गरिरहेको हुनाले उल्टै कार्वाहीको साटो सहयोगको भाव देखाएका छन् ।
आफू चारवर्षदेखी जिशिअ धनुषामा कार्यरत रहेको र सो क्रममा यो कार्यालय भ्रष्टाचारी कर्मचारीहरुको अखडा रहेको सम्पूर्ण प्रमाण देखेर पनि कतैबाट सहयोग नपाउँदा निरिह बनेर बसि राखेको यादवले दुखेसो पोख्नु भयो । जिशिकामा प्रत्येक कामकारवाहीको अवैद्य दररेट निर्धारण गरिएको बताउंदै यादवले भने, यहाँ शिक्षकको जिल्लान्तर सरुवाको दर अढाई देखी ३ लाख सम्म रहेको छ, बालविकासको सवा लाख दर रहेको र निजि विद्यालयलाई बिना कुनै आधार अनुमति दिन ५० हजारमा मोलमोलाई हुने गरेको यादवले सुनाए । कर्मचारी र जिशिअको मिलोमतोमा भ्रष्टाचार बढ्दै गएपनि यसलाई रोक्न खोज्ने वा अवरोध गर्नेलाई ठूलो असुरक्षा रहेको उनको भनाई रहेको छ ।
जिल्लामै सबैभन्दा बढि भ्रष्टाचारी हुने कार्यालयको रुपमा जिशिका रहेको र यसका थुप्रै उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा परेपनि हालसम्म कुनै ठोस कार्वाही हुन नसक्नुले भ्रष्ट कर्मचारीहरुको मनोबल अझ बढेको कार्यालयका अन्य कर्मचारीहरुले बताए ।
यता, जिशिअ महेन्द्र महतोले यसप्रकार कर्मचारीकै बिचमा हातपात हुनु दुखद भएपनि यो उनीहरुहरुको निजि विवादको उपज रहेको बताएको छ । यो कार्यालयको भित्रको कुरा भएको हुनाले आफूले यसलाई यही मिलाउने र दोषि कर्मचारीलाई शिक्षा ऐनमा उल्लेख भएअनुसारको कार्वाही प्रक्रिया अघि बढाउने महतोको भनाई रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »