नासु रायलेनै फर्जी अनुमति पत्र दिएर संचालनमा रहेको शिवशंकर बोर्डिंङ्क स्कुललाई सहायक जिशिअ यादवको संयोजकत्वमा गठित अवैद्य रुपमा सञ्चालित निजी विद्यालयहरु नियन्त्रण टोलीले बन्द गर्न निर्देशन दिएको थियो । सोही रिसमा यादवसंग बाझिएका नासु रायले आवेगमा आएर चप्पलले हानेका थिए । तर, घटना भएको चारदिन बितिसक्दा पनि कुटपिट गर्ने नासुलाई कुनै कार्वाही भएको छैन् ।

सहायक जिशिअ यादवले भने, ‘आफूलाई कार्यकक्षमा कुट्ने व्यक्ति आफ्नै जातको रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट दबाव आएको छ ।’ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाँदा समेत धनुषाका डिएसपी हाल एसपीमा बढुवा भईसकेका मनोज यादव, प्राध्यापक रामस्वार्थ राय तथा अवकाश प्राप्त प्रधानाध्यापक कारी यादव समेतले नासु रायलाई माफ गरि मुद्दा मिलाउन दबाव दिएका थिए । डिएसपी यादवले घरपरिवारको सम्बन्ध रहेका नासु राय आफ्नै जातको रहेको भन्दै घटनालाई बढि नबढाउन भनेपछि आफूले उनलाई कुनै जात विशेष भन्दा पनि न्यायको पक्षमा पहल आग्रह गरेको सहायक जिशिअ यादवले बताए ।
आफूलाई कुटपिट गर्ने रायलाई यदि यसपटक माफ गरियो भने उनले फेरी भ्रष्टाचारलाई मलजल गर्न अर्को घटना घटाउन सक्ने हुनाले आफूले न्याय पाउनका लागि प्रहरी, मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म गुहार लगाउने यादवले बताए । यसै क्रममा प्रहरीले घटनाको जाहेरी दर्ता गर्नुभन्दा पूर्व घटना भएको बेला उपस्थित रहेका प्रत्यक्षदर्शीहरु लेखाअधिकृत विजय कुमार चौधरी, नासु जगदिश प्रसाद साहलाई वकपत्र गराउन पत्र पठाएको हो । यता, जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले एक कर्मचारीले अर्कोमाथी हात उठाउनु अतिनै दुखद भएको र यस विषयमा आफुले यादव र रायलाई बोलाएर सोधपुछ गरि रायलाई यादवसंग माफि मगाउन समेत तयार गरेको बताए । तर, यादवले कानुन अनुसार नै रायमाथि कार्वाही गरिनुपर्ने अडान राखेपछि आफू यस विषयमा चुप लागेको जिशिअ महतोले बताए । उनले आफूले यादवलाई मुद्दा मिलाउन कुनै दबाव नदिएको समेत जानकारी गराएको छ ।
