
उनले भने, ‘माओवादी संघीयता, गणतन्त्र, समानुपातिकता तथा पहिचानको पक्षधर पार्टी हो र पनि जनताले हामीलाई तेश्रो शक्तिको रुपमा स्वीकारे । हामीले आफ्नै खेतमा उब्जाएको चामल बेच्न सकेनौं, काँग्रेस र एमालले कुहिएको पिठो पनि बेच्न भ्याए ।’ आत्म निर्णयको अधिकारसहितको संघीयता, गणतन्त्र तथा जातीय पहिचानको मुद्दा बुलन्द गर्ने माओवादीलाई जनताले भोट नदिनुको कारण माओवादी नेता तथा कार्यकर्ताहरुको सत्ता र भत्ता लोभ भएको जिकीर पनि दाहालले गरे ।
उनले भने, ‘अचेल माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागेका छन् । संगठन सखाप भएको छ ।’ माओवादीको जन्म र कर्म तराई–मधेसका आठ जिल्लामा भएको उल्लेख गर्दै माके अध्यक्ष प्रचण्डले प्रदेश नम्बर दुईको निर्वाचनलाई लक्षित गरी सघन कार्यक्रम संचालन गर्न पार्टी नेता तथा कार्यकर्ताहरु अपिल गरे । उनले असोज २ गतेसम्म पार्टीका सम्पूर्ण शीर्ष नेता मधेसमै डेरा जमाएर बस्ने उद्घोष पनि गरे ।
एमाले प्रति आक्रामक तथा नेपाली कांग्रेसप्रति अलि नरम देखिएका माके अध्यक्ष दाहालले एमालेमाथि मुलुकमा भएको कुनै पनि आन्दोलनको नेतृत्व नगरेको आरोप लगाए । उनले भने, ‘संघीयता विरोधी, धर्म्निरपेक्षता विरोधी, अग्रगमन विरोधी एमालेलाई जनताले भोट दिने अनि हामीलाई नदिने कुनै कारण छैन । हामीले आफ्ना उपलब्धिहरु जनतासम्म पु¥याउन सकेनौं ।’

यसअघि प्रशिक्षणको लागि तिरहुतिया गाँछीस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्र चयन गरिएको थियो तर अन्तिम चरणमा पिडारी चौकस्थित जानकी बाटिका पार्टी पैलेशमा सारिएको थियो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलका अनुसार, झण्डै ६ सय सहभागीका लागि स्थान सांगुरो हुने भएकोले कार्यक्रम स्थल सारिएको थियो ।
दुई चरणको स्थानीय तह निर्वाचनमा फितलो प्रदर्शन गरेको माओवादी केन्द्र प्रदेश नम्बर दुईलाई दृष्टिगत गरी निर्वाचन लक्षित कार्यक्रम संचालन गरेको हो । माके पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलका अनुसार, प्रशिक्षणमा आठ जिल्लाका निर्वाचन परिचालन समितिका सदस्यहरु संगै जिल्ला अध्यक्ष, संयोजक तथा केन्द्रिय नेताहरुको सहभागिता थिए ।
