सिरहामा गर्मी बढ्दो, तापक्रम ४० डिग्रीसम्म पुग्यो

प्रकाशित समय 6:11:00 PM
गोलबजार, २ साउन । सिरहामा पछिल्लो २ दिनयता यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जिउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ ।
वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या परेको छ । अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वायुमण्डलीय तापक्रम बढिरहँदा सिरहामा आइतबार र सोमबार अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरियो ।
वर्ष २०७४ को साउनमा सिरहामा पछिल्लो वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जिल्लाहरुमा अझै केही साता तापक्रम बढ्ने पूर्वानुमान रहेको बताए । वैशाख जेठमा अत्याधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्दै आएका थिए । अहिले गर्मी बढेपछि अधिकांश विद्यालय पनि बन्द गरिएको छ । गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफुल र जुसको व्यापार बढेको छ ।
मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । नियमित विद्युत आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसाधारण झनै पिरोलिएका छन् । छाला ढाक्ने कपडा लगाउन, घाममा हिंड्दा नियमित अन्तरालमा बसेर शितल पानीले मुख–हात धुन चिकित्सकहरुले सुझाव दिएका छन् । पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने तथा घाममा निस्कँदा छाता लगाएर निस्कन चिकित्सकहरुले सुझाव दिएका छन् ।
नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन फरक पार्ने भएपनि पछिल्लो एक सातामा पानी परेको छैन । मनसुनको कतै कुनै अत्तोपत्तो छैन । जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी छटपटिएका छन् । ‘लु’ लागेर ज्यानै जान सकिने सम्भावना पनि रहने हुँदा अत्याधिक गर्मी महसुस भएमा सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »