नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै तीन महिलामाथि कुटपिट

प्रकाशित समय 6:42:00 PM
सिरहा, २५ असार । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङ्ग्राहाका तीन जना महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । उनीहरुलाई नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै गाउँकै मोहम्मद आलम मियाँ, जाहिर मियाँ र उनका छोरा कलिमले बाँसको हरियो लठ्ठीले स्थानीय संजिला खातुन, मकिना खातुन र खैरुल खातुनलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
कुटाईबाट मकिनाको शरीरको विभिन्न भागमा ठूलठूला निलडाम लागेको छ । उनको शरीरको पछिल्लो भागको तल खुट्टादेखि गर्धनसम्म ठूलठूला निलडाम बस्ने गरी सार्वजनिक ठाउँका कुटपिट भएको  हो । खैरुलको पनि शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरु दुवैजनाको गोलबजार–४ स्थित आकाशगंगा पोली क्लिनिकमा उपचार भइरहेको छ ।
क्लिनिकका डा. दिपेन्द्र यादवले मकिनाको शरीरको सवैभागमा गम्भीर चोट लागेको जानकारी दिए । उनले भने, ‘उहाँहरुको शरीरको कुनै ठाउँ नै बाँकी छैन, गहिरो चोट पर्नेगरी कुटपिट भएको छ, शारीरिक रुपले पनि बलियो भएकोले महिला बचेका हुन् ।’ घरमै नुहाईरहेको बेला १२÷१५ दिन पहिला छिमेकी संजिला खातुनले मकिना र खैरुल खातुनको मोवाइलले फोटो खिचेर इमोमा हालेको मकिनाले बताए । मकिनाले भने, ‘म घरकै चापा कलमा नुहाई रहेको थिएँ, त्यहिवेला खैरुल पनि आएर नुहाउन थाली । हामी दुवैजना नुहाएको ठाउँमा संजिला पनि नुहाउन आईन् । त्यही वेला उनले मोवाइल चलाई रहेकी थिईन्, मैले हामी नुहाई रहेका छौं, फोटो नखिच भनेको थिएँ । उनले पनि खिचदिन भनेपनि फोटो खिचेको रहेछ, त्यही फोटो इमोमा लगाएछ ।’
  त्यही फोटो गाउँलेले इन्टरनेटमा देखेपछि संजिला र खैरुललाई असार २० गते बिहान जाहिर मियाँले आफ्नै घरमा थुनेर छोरा कलिमलाई कुटपिट गर्न लगाएको स्थानीय साहिदा खातुनले बताए । त्यही दिन वेलुका छलफल गर्नुछ भन्दै मकिनालाई पनि बोलाएर आलम र जाहिरले मरणासन्न हुनेगरी कुटपीट गरेको साहिदाले बताइन् ।
  जाहिर मियाले उनीहरुको साथमा रहेको मोबाइल खोसेर दुई दिनसम्म नियन्त्रणमा राखेको पनि साहिदाले बताए । मियाले उनीहरुको मोवाईलमा रहेको सम्पूर्ण नम्बर र फोटोहरु डिलिट गरेर दुई दिनपछि मोवाइल फिर्ता दिएको जनाएको छ । कुटपिटपछि पनि घटना वाहिर लगे यो भन्दा पनि कडा सजाए दिने धम्की उनीहरुले दिएको पीडितहरुले बताएका छन् । गाउँमै मिलाउने भनेर तीन दिनसम्म गाउँमै राखे पनि पीडितको बोली कसैले नसुनेको मकिनाले दुःखेसो पोखिन् । उनले भनिन्, ‘सवैले गाउँमै मिल्नु पर्छ भने, तर कसैले केही सहयोग गरेन, त्यसैले  म यहाँ उपचार गराउन आएको हुँ । प्रहरीलाई पनि खवर गरेको छु ।’
  आलम र जाहिरको दवावका कारण खैरुल खातुन र संजीला खातुन उपचारका लागि समेत गाउँ बाहिर जान नसकेको बुझिएको छ । उनीहरुलाई गाउँ बाहिर गए र खवर पठाए यो भन्दा पनि ठूलो सजाय दिने भन्दै वाहिर जान दिएका छैनन् । उनीहरु अझै गाउँमै सामान्य उपचार गराएर वसिरहेकी छन् । प्रहरीले घटनाबारे आफूहरुलाई ढिलो गरीमा जानकारी भएको बताएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले  घटनाको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »