सडकको कामले गति नलिएपछि सर्वसाधारण आन्दोलित

प्रकाशित समय 7:06:00 PM
गोविन्द महतो
जनकपुर, १० साउन । जनकपुरमा सडक बिस्तारको कामले गति नलिएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । एकीकृत शहरी विकास आयोजनाअन्तर्गत नगर विकासको कामले गति नलिएपछि नगर अहिले झनै कुरूप बन्न गएको छ ।  आयोजनाले काम गर्ने क्रममा जथाभावी रूपमा सडक खन्ने तर त्यसलाई छिटो व्यवस्थापन नगर्ने गर्दा नगर कुरूप बन्दै गएको र सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको स्थानीयले बताएका छन् ।
एसियाली विकास बैंकको झण्डै एक अर्ब रुपैयाँ आर्थिक सहायतामा संचालन गरिएको एकीकृत शहरी विकास आयोजनाअन्तर्गत सडकरनाला निर्माणको कार्य भइरहेको छ । सडक बिस्तारको कामले गति लिन नसक्दा सर्वसाधारणलाई आवातजावतमा समेत कठिनाइ भएको स्थानीयको गुनासो छ ।  नगरको बजार क्षेत्रमा खनिएको सडकको कारण सर्वसाधारणलाई समस्या भएको हो ।
सडक जथाभावी खाल्डो बनाउँदा स्थानीय व्यापारी प्रभावित भएका छन् । सडक निर्माणको कामले गति नलिएपछि व्यापारको काम ठप्प भएको स्थानीय ओम टुर्स एण्ड ट्राभल्सका सञ्चालक प्रभात महतोले गुनासो गरे । उनले महिनौँदेखि खनिएको सडकको खाल्डो व्यवस्थापन नगर्दा सर्वसाधारणले दुःख पाएको र आफूहरूको व्यवसाय चौपट भएको बताए ।  सडक बिस्तारको काम समयमै सकिनेमा स्थानीयले आशंका व्यक्त गरेका छन् ।
अबको एक वर्षभित्र सम्पन्न गर्ने गरी जनकपुरको सडक बिस्तारको ठेक्का शर्मा जेभी कम्पनीले लिएको छ । तर काम भने सुस्त गतिमा अघि बढाइएको छ । यता, जनकपुर उपमहानगरपालिकाले भने सडक बिस्तारको काम तीव्र गतिमा भइरहेको दाबी गरेको छ ।
उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले आयोजनाको धेरै रकम नाला र सडकमा रहेको पनि बताए । आयोजनाले हालसम्म ३२ किलोमिटर नाला निर्माण गर्नुपर्नेमा एक चौथाई पनि पूर्ण रूपमा हुनसकेको छैन ।  त्यसैगरी ९ दशमलव २९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य नाला निर्माणका ढिलाइ हुँदा प्रभावित भएको छ । सडकमा गाडिएको पोल हटाउनुपर्ने, केही व्यक्तिहरूले आफ्नो घर भत्काउनुपर्ने भएको कारण आयोजनाको काममा केही ढिलाइ हुन गएको इन्जिनियर यादवले स्वीकार गरे ।
सडक बिस्तारको काम सम्पन्न नहुँदा यस वर्षको वर्षातमा झनै कष्ट व्यहोर्नुपरेको गुनासो सर्वसाधारणले गरेका छन् । तर जनकपुर उपमहानगरपालिकाले भने सरोकारावाला निकायसँग छलफल गरेर सडक व्यवस्थापनमा ध्यान नदिएको विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’ बताउँछन् । सडक र नालाको उचित व्यवस्थापन नहुँदा जनकपुरवासीले सास्ती व्यहोर्दै आएका उनको भनाइ छ ।
दिनहुँ खाल्डोमा खस्ने समस्या
समयमै जनकपुरको सडक निर्माण नहुँदा तथा जताततै खाल्डाखुल्डी खनेर छाड्दा साँझको समयमा दुई पांग्रे सवारी तथा पैदल यात्रुहरू दैनिकजसो खाल्डाखुल्डीमा पर्ने गरेका छन् । जनकपुरको विद्यापति चोकमा रहेको सडक निर्माणको क्रममा रहेको र केही दिनदेखि लगातार मोटर साइकलमा सवार भएका व्यक्तिहरू खनिएको खाल्डोमा खस्ने गरेका छन् । यही कारण त्यसको विरोधमा स्थानीयले तीन घण्टा चक्का जामसमेत गरेका छन्।  स्थानीयवासीले तीन घन्टादेखि जनकपुर उपमहानगरपालिका, खानेपानी कार्यालय, दूरसञ्चार कार्यालय र एडीबीलगायतका कार्यालयका इन्जिनियरले अनुगमन गरी समस्यालाई समाधान गर्ने भने पनि चासो नदिएको भन्दै मंगलबार दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म तीन घण्टा चक्का जाम गरेका हुन् । चक्का जामका कारण जटही जाने बस तथा तीन पांग्रे गाडीहरू समेत ठप्प भएका थिए । विद्यापति चोकका स्थानीयवासी नन्दकुमार झाले समस्या समयमै समाधान नभएसम्म आन्दोलन जारी रहने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »