एकै परिवारका सात चालक र सक्षम बन्दै बस्ती
कमलेश यादबगोलबजार, १२ साउन । समुदायको बसोबासले बस्ती निर्माण हुन्छ । जीविकोपार्जनका लागि बस्तीका हरेक व्यक्ति विभिन्न पेसा व्यवसायमा खटिन्छन् । तर, गोलबजार नगरपालिका ३ स्थित जमनटोकी रोजगारीका लागि पृथक् छ । ४२ घरपरिवार नेवार समुदायको बसोबास रहेको बस्तीका युवादेखि वृद्धसम्म ‘ड्राइभर’ (चालक) को काम गरी रोजगारी चलाउँछन् । बस्तीमा ६० भन्दा बढी युवादेखि वृद्धसम्म ‘ड्राइभरी’ पेसामा आबद्ध छन् । प्रायः माटोको भित्ता, टायल, जस्ताले छाएको र छिटपुट पक्की घरले गुजुमुजु परेको जमनटोकीले ‘ड्राइभर’ गाउँको उपमा लिएको छ ।

‘त्यसपछि एकपछि अर्काले सवारी चलाउन सिक्न थालेपछि अहिले गाउँभरि ६० जनाभन्दा बढी ‘ड्राइभर’ भएछौं,’ उनले भने, ‘बस्तीमा गाडी चलाउनेबाहेक पछिल्लो पटक ८ जना मात्रै सरकारी सेवामा जागिरे छन, अरू सबै जना गाडी चलाउने ‘ड्राइभर’ । बस्तीकै पहिला सवारी चालक ५९ वर्षीय दुर्गाबहादुर श्रेष्ठका सात भाइ छोरामध्ये ६ जना यही पेसामा आबद्ध छन् । आफू यो पेसामा आए पनि छोराहरूलाई यो पेसामा ल्याउन दुर्गाबहादुरले चाहेका थिएनन् । ‘बालबच्चाको खर्च जुटाउनै हम्मेहम्मे पथ्र्यो,’ उनले भने, ‘छोराहरू कसैले पढ्नै सकेनन, ४–५ कक्षासम्म पढे, पढाइ नभएपछि ड्राइभर बने ।’ उनका छोराहरू ट्याक्टर, ट्रक, म्याजिक चलाउँछन् ।
छोरीको आशामा ७ छोरा पाएका उनी बुढ्यौलीमा स्कुल बस चलाउँछन् । साना–ठूलादेखि काठमाडौं चल्ने बससम्म चलाइसकेका उनले गरिबीकै कारण जीवन धान्नका लागि यो लाइनमा लागेको सुनाए । दुर्गा भन्छन, ‘त्यही सीप अहिले बुढ्यौलीमा जीवन धान्ने माध्यम बनेको छ ।’ बस्तीमा अधिकांशले ड्राइभरी पेसाकै कमाइले ट्याक्टर, म्याजिक, ट्रिपर खरिद गरी आफंै निजी चलाउन थालेका छन् । १२ वर्षदेखि ड्राइभरी गर्दै आएका ४४ वर्षीय रामकुमार श्रेष्ठले एक वर्षअघि १८ लाख रुपैयाँ लगानीमा १० चक्के ट्रिपर किनेर चलाइरहेका छन् । ‘साहुकोमा ट्रिपर चलाउँदा मासिक तलब १० हजार दिन्थ्यो,’ उनले भने, ‘आफैंले लगानी गरेर चलाउँदा आम्दानी राम्रो भएको छ ।’
गाडी चलाएरै बस्तीका घरलौरी रोजगारीमा छन् । त्यही रोजगारीबाट बस्तीका अधिकांशले घरखेत जोड्न थालेका छन् भने आफना बालबच्चालाई शिक्षामा अग्रसर गराउन थालेका छन् । विद्यालय, बजार, बिजुली, बाटोघाटोलगायत आधारभूत आवश्यकताको पहुँच भए पनि शैक्षिक अवस्था कमजोर ठहर गरी बालबालिकालाई विद्यालय पठाउन थालेको ५६ वर्षीय धनबहादुर श्रेष्ठले बताए ।
‘विद्यालय नजाने बालबालिका बस्तीमा छैनन,’ उनले भने, ‘सबैभन्दा ठूलो शिक्षा नै रहेछ, त्यसैले बालबालिकाको पढाइमा जोड दिएका छौं ।’ सवारी चालककै रोजगारीको कमाइले बस्तीमा पक्की घर पनि बन्न थालेका छन् । ड्राइभर गाउँको उपमा लिन थालेको जमनटोकीमा वरपरका कुनै पनि सवारी धनीलाई चालक चाहिएमा यही गाउँ आउने गर्छन् । गोलबजार आसपास चल्ने धेरै ट्याक्टर चालक यही बस्तीका छन् । बस्तीमा ठूला ट्रक, ट्रिपर, बस, कारदेखि एम्बुलेन्स र ट्याक्टर चलाउनेसम्मका चालकहरू छन् ।
