सिरहामा शिक्षाको एघार करोड रकम बेरुजु

प्रकाशित समय 6:49:00 PM
गोलबजार, ३१ असार । जिल्ला शिक्षा कार्यालय सिरहाले चालु आर्थिक वर्षमा ११ करोड रुपैयाँ फछ्र्याैट गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ सालदेखि हालसम्म  सिरहामा शिक्षाका ३४ करोड रकम बेरुजु देखिएको थियो । अझै २३ करोड रुपैयाँ फछ्र्याैट हुन बाँकी छ । विद्यालयहरुमा भौतिक निर्माण कार्यको रकममा बढी बेरुजु देखिएको छ ।
जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णका अनुसार कतिपय विद्यालयहरुमा काम भएपनि तिनले कार्य सम्पन्न प्रतिवेदन बुझाउन नसक्दा बेरुजु कायमै रहेको थियो । त्यस्तै, केही विद्यालयले कामै नगरेकाले बेरुजु भएको जिशिअ कर्णले बताए । विद्यालयहरुमाथि जुन जुन शीर्षकमा बेरुजु देखिन्छ, त्यही शीर्षकमा थप अनुदान (रकम) बेरुजु फछ्र्याैट नगरेसम्म नपाउने नियम छ ।
यस्तै, आर्थिक वर्ष २०६७।०६८ र ०६८।०६९ मा विद्यालयहरुमा बढी र दोहोरो निकासा भएको देखिएको छ । ती रकम शिक्षा कार्यालयले असुल गरेको छ । ९ वटा विद्यालयले शौचालय र मर्मत खर्चबापत् दोहोरो र बढी निकासा गराएका थिए, तर काम भने गरेका थिएनन् । त्यस्तो विद्यालयहरुबाट १८ लाख ५० हजार रकम असुलेको शिक्षा अधिकारी कर्णले जानकारी दिए । राम आधारभूत विद्यालय खैरवोना, भगवती आधारभूत विद्यालय कृष्णपुर, सरस्वती आधारभूत विद्यालय गढिया, आधारभूत विद्यालय पोखरिया, रामजदेवी विद्यालय शोभापुरले २।२ लाख रुपैयाँ कागजी प्रक्रिया पु¥याएर रकम निकासा गराएर पनि काम गरेका थिएनन् ।
मर्मतको रकम जनता आधारभूत विद्यालय डुमरी ५० हजार र सरस्वती विद्यालय मेदनीपुरबाट एक लाख रुपैयाँ असुल गरिएको छ । यस्तै, आधारभूत विद्यालय बेतहाबाट मर्मतको १ लाख र शौचालयको २ लाख तथा लक्ष्मी आधारभूत विद्यालय लक्ष्मीपुर डावरटोलबाट ४ लाख असुलिएको छ । यस विद्यालयबाट पहिले पनि ५० हजार असुल उपर गरिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »