जनकपुर घटना : किशोरको मृत्युबारे छानविन गर्न समिति गठन

प्रकाशित समय 6:15:00 PM
जनकपुर, ५ साउन । उपचारार्थ जनकपुर अञ्चल अस्पताल भर्ना गरिएका एक किशोरको मृत्युबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले विहीवार पाँच सदस्यीय समिति गठन गरेको छ ।
बुधवार विहान उपचारार्थ अस्पताल भर्ना गराइएका मिथिला विहारी गाउँपालिका १० ठेराका कैलाश मण्डलको १३ वर्षीय छोरा राजा भन्ने जीतेन्द्र मण्डलको उपचारको क्रममा अवेर राती मृत्यु भएको थियो ।
मृतकका परिवारजन तथा अस्पताल सुधार अभियानमा लागेको संयुक्त मधेसी संघर्ष समिति (एसमास) ले किशोरको मृत्यु चिकित्सकको लापर्वाहीको कारण भएको भन्दै चर्को विरोध गरेपछि ,जिप्रका धनुषाले छानविन समिति गठन गरेको हो ।
छानविन समितिमा जनकपुर अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य रामप्रमोद महतो, डा.रामनरेश  पण्डित, राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय जनकपुरका अधिकृत दीपकुमार यादवसंगै जिल्ला जनस्वास्थ्य कार्यालय तथा पीडित परिवारका एक÷एक जना सदस्य राखिएका छन् । धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार–समितिले १५ दिनभित्र घटना छानविन गरी प्रतिवेदन बुझाउने छ । प्रतिवेदनको आधारमा दोषीमाथि कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ति बारे आधिकारिक निर्णय हुनेछ । अत्याधिक ज्वरो लागेको राजालाई उनका अभिभावकहरुले विहान ९ वजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएका थिए । जहाँ उपचारको क्रममा उनको राती अढाई बजे मृत्यु भएको थियो । मृतकका बाबु कैलाश मण्डलले कार्यरत चिकित्सकहरुले छोराको उपचारमा लापर्वाही गरेको तथा एक नर्सले गलत सुई दिएको कारण मृत्यु भएको आरोप लगाएका छन् ।
यता अस्पतालमा कार्यरत चिकित्सकहरु उपचारार्थ अस्पताल भर्ना गराएका किशोरको स्वास्थ्यस्थिति अत्यन्तै जटिल भएको तथा उनका अभिभावकहरुले अस्पताल छाडी अन्त उपचार गराउन लगेको र अन्तिम् अवस्थामा मात्र पुनः अस्पताल फिर्ता ल्याएको प्रतिक्रृया दिएका छन् । बुधवार राती डिउटीमा खटेका डा. बैद्यनाथ ठाकुरलाई उद्धृत गर्दै डा. रामनरेश पण्डितले भने, ‘मृत्यु भएको किशोरलाई विगत एक सातादेखि ज्वरो आएको थियो । उनी अस्पताल भर्ना गराइए पनि बीचमा उनका अभिभावहरुले उपचार गराउन अन्त लगेका थिए ।’
यता अस्पताल सुधारको अभियानमा लागेको एसमासका उपाध्यक्ष सरोज मिश्रले अस्पतालका चिकित्सकहरुको लापर्वाहीको कारण किशोरको मृत्यु भएको ठोकुवा गर्दै घट्ना छानविन गर्न गठित समितिको आधिकारिकतामाथि प्रश्न खडा गरेका छन् । ‘यस अघि पनि पटक पटक छानविन समिति गठन भएका छन् तर कसैमाथि कार्यवाही भएको हामीलाई थाहा छैन । दोषीमाथि कार्यवाहीको ग्यारेन्टी हुनु प¥यो’ मिश्रले भने ।
एसमासले हेल्प डेस्क खडा गर्ने
यस बीच जनकपुर अञ्चल अस्पतामा जारी अनियमितता तथा उपचारमा लापर्वाहीलगायतका घटनाहरुको भण्डाफोर गर्न तथा सेवाग्राहीहरुलाई सहयोग गर्न संयुक्त मधेसी संघर्ष समितिले हेल्प डेस्क खडा गर्ने निर्णय गरेको छ ।
एसमासका उपाध्यक्ष सरोज मिश्रका अनुसार, ‘यस विषयमा छलफल गर्न शनिवार वृहत बैठक बोलाइएको छ । सरोकारवाला तथा विषय विज्ञहरुको सहभागिता रहने उक्त बैठकले हेल्प डेस्कको प्रारुप तथा कार्यक्रम बनाउने छ । पछिल्ला केही दिनदेखि एसमासको नेतृत्वमा जनकपुर अञ्चल अस्पतामा स्थलगत निरीक्षण सुरु गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »