राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत तेह्र लाख बिरुवा वितरण

प्रकाशित समय 7:17:00 PM
गोलबजार, १४ साउन । जिल्ला वन कार्यालय सिरहाले आर्थिक वर्ष ०७३÷७४ मा १३ लाख बिरुवा उत्पादन गरी वितरण गरेको जनाएको छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको बलान नदी प्रणाली सघन कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालयले जिल्लाको लहान नगरपालिका, मिर्चैया, धनगढी, इटहर्वा, बन्दीपुरलगायत स्थानमा बिरुवा उत्पादन गरी वितरण गरेको हो ।
चुरे क्षेत्रलाई हराभरा बनाउन, नदी कटान नियन्त्रण गर्न र निजी किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको सो कार्यक्रमअन्तर्गत हालसम्म सिरहाको लहान नगरपालिकामा दुई लाख २५ हजार, मिर्चैयामा एक लाख, धनगढीमा एक लाख, इटहर्वामा एक लाख २५ हजार, बन्दीपुरमा ५० हजार गरी सात लाख बिरुवा उत्पादन कार्य सम्पन्न गरी वितरण गरिसकेको जिल्ला वन कार्यालय सिरहाका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।
बलान नदी प्रणाली सघन कार्यक्रमअन्तर्गत आव ०७३÷७४ मा १४ दशलब ४ हेक्टर क्षेत्रफलमा वृक्षरोपण, जिल्लाको ७५ हेक्टर क्षेत्रफलमा तारबारसहित वृक्षरोपण तथा अतिक्रमण गरिएको १० हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाइ वृक्षरोपण गरिएको उनले जानकारी दिए ।
यस्तै बलान नदी प्रणालीको वृक्ष सुधार, वृक्षरोपण तथा निजी वन कार्यक्रमअन्तर्गत ६ लाख बिरुवा उत्पादन गरी वितरण गरिएको र सिरहाको विभिन्न स्थानमा २७ दशमलव एक हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको प्रमुख सिंहले जानकारी दिए ।
उपयुक्त मानिएका जग्गाको छनोट गरी अहिले वृक्षरोपण र बिरुवा उत्पादन कार्यतीव्र रुपमा अघि बढाइएको र उत्पादित बिरुवा नासिन नदिन अहिले प्रत्येक बिरुवा उत्पादन स्थलमा तालिम प्राप्त नर्सरी नाइके र मजदुरको व्यवस्था गरी गोडमेल र संरक्षण कार्य भइरहेको पनि उनले बताए ।
मसला, टिक, पाउहोनियाँ, सिसौ, जलेबी, खयर, बबुर, अमला, सालका साथै बाँस, निगालो, अम्रिसो, डाले घाँस तथा अन्य आयआर्जनका बिरुवा रोपन कार्य अभियानकै रुपमा चलाइएको प्रमुख सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »