अवैध संचालित निजी विद्यालयमा बालबालिकाको विजोग

प्रकाशित समय 5:50:00 PM
जनकपुर, १ साउन । गुणस्तरिय शिक्षाका लागि अविभावकले गाँस कटाएर नीजि बिद्यालयमा भर्ना गरिएका बालबालिकाको बिजोग भएको छ । जनकपुर उपमहानगरपालिका पुलचौकमा सञ्चालित चाइल्ड केयर शिशु सदन नाम गरेको निजि विद्यालयलाई हेर्दा विद्यार्थीहरुलाई सजाय दिनका लागि भर्ना गराईएको प्रतित हुन्छ ।मिनु यादवद्वारा चदराको छानो भएको सानो कोठामा सञ्चालित आवासीय विद्यालयमा विद्यार्थीहरुलाई कोचेर राख्ने गरिएको पाइएको छ । तराई मधेसमा अत्यधिक गर्मीको बेला सानो कोठामा अव्यवस्थित बसाईले दुर्गन्ध फैलाउने गरेको छ । बिद्यालयलाई चर्को शुल्क तिरेका अविभावकले आफना बालबालिकाहरुको सास्ती देख्नु परेको छ । बिना दर्ता सञ्चालन गरिएको यस विद्यालयबाट विद्यार्थीको आवास यथासिघ्र हटाउन जिल्ला शिक्षा कार्यालयको अनुगमन टोलीले आईतबार निर्देशन दिएको छ ।
बिना दर्तानै अबैध रुपमा रुपमा सञ्चालनमा रहेका नीजि विद्यालयहरुलाई नियन्त्रण गर्न जिल्ला शिक्षा कार्यालयका उप जिल्ला शिक्षा अधिकारी मेहिलाल यादबको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरी अनुगमन तीव्र बनाईएको हो । टोलीले गत आईतबारदेखि हालसम्म ३३ वटा नीजि विद्यालयहरुमा अनुगमन गरिसकेको जनाईएको छ ।
एक कक्षाको अनुमति लिएर १० कक्षासम्म भर्ना लिने विद्यालयको रुपमा रहेको एजुकेशन प्वाईन्ट ईङग्लिस स्कुल, बिना अनुमति नै १० कक्षासम्म कक्षा चलाउंदै आईरहेको र जनकपुर नगर क्षेत्रभरी पोस्टर टाँसेर प्रचारप्रसार गर्दै आएको शुभतारा ईङग्लिस बोर्डिङ स्कुल लगायतले विद्यार्थीहरुको भविष्यसँंग खेलवाड गरिरहेको फेला परेको टोलीमा सहभागि प्याब्सन धनुषा अध्यक्ष विश्वलाल साहले बताए ।
अनुगमनको क्रममा अवैद्य रुपमा सञ्चालित विद्यालयको आवास कक्षमा बालबालिकाहरुलाई सिमेन्टको बेड बनाएर चिसो भूईमा सुताईने गरेको पाईएको छ । त्यसैगरी विद्यार्थीहरुलाई फोहोर कोठामा राख्ने, दुर्ग्न्धित शौचालय प्रयोग गर्न लगाईने र अस्वस्थ खाना दिईने गरिएको पाइएको छ ।
आईतबार गरिएको अनुगमनको क्रममा दशरथ तलाउ नजिक भोला मिश्राले सन्चालन गरेको होलि मिशन हाइ स्कुल युकेजी सम्म दर्ता भइ कक्षा आठसम्म सञ्चालन गरेको पाइएको छ । अनुमति बाहेकको कक्षा बन्द गर्न निर्देशनसहितको पत्र काटिएको थियो । थापाचौकमा बिनोद साहले सञ्चालन गरेको ग्यान सागर स्मार्ट एजुकेशन एकेडमी ,पुलचौकमा सुजित कुमार मिश्रले सञ्चालन गरेको शिव सारदा इङलिस बोर्डिङ स्कुल लगायतका अन्य विद्यालयहरु अवैध रुपमा सञ्चालित रहेको पाईएको अनुगमन टोलीका संयोजक मेहिलाल यादबले जानकारी दिए ।
अविभावकसँग मनमौजी रकम असुली गर्ने र विद्यार्थीलाई न्यूनतम पूर्वाधार र आधारभुत सेवा समेत नदिने यस्ता निजि विद्यालयहरुलाई नियन्त्रण गर्न पहिला पनि अभियानहरु सञ्चालन गरिएका हुन् तर, ती अभियानहरु आर्थिक प्रलोभन र विभिन्न प्रकारका दबावहरुको कारण अघि बढ्न सकेका थिएनन् । तर, यसपटक अनुगमन टोलीले बिना कुनै अनुमति वा कानुनी प्रमाण विना नै सञ्चालनमा रहेका १२ वटा विद्यालयलाई बन्द गर्न निर्देशन दिईसकेको छ ।
टोलीका संयोजक यादवले हालसम्म आफूहरुलाई कुनैपनि राजनीतिक दबाव नआएपनि जिशिका धनुषाकै केही फाँटवाला कर्मचारीहरु जसले आर्थिक प्रलोेभनमा परी यस्ता अवैध विद्यालयहरुलाई सहयोग गर्दै आएका थिए तिनीहरुबाट केही दबाव खेप्नु परेको जानकारी गराएको छ । धनुषामा हालसम्म अनुमति प्राप्त गरी दुई सय ४३ वटा नीजि विद्यालय सञ्चालनमा रहेको छन् भने सय भन्दा बढी अवैध विद्यालय सञ्चालनमा छन् । शैक्षिक स्तर कम भएका तर वैदेशिक रोजगारमा गएका अविभावकहरु यस प्रकारका अवैध विद्यालयहरुबाट ठगिदैं आएका छन् । गाउँघरकै छरछिमेकीले अवैध विद्यालय संचालन गर्ने र अविभावकहरुलाई राम्रो शिक्षाको लोभ देखाएर रकम ठग्ने गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »