अवैध विद्यालय पुनः संचालनमा

प्रकाशित समय 6:48:00 PM
गोलबजार, २६ असार । केही दिन अगाडी जिल्ला शिक्षा कार्यालय सिरहाले नै बन्द गरेको अवैध निजी विद्यालयहरु संचालकहरुले पुनः खोल्न थालेका छन् । जिल्ला शिक्षा कार्यालयमा दर्ता नै नगरी विद्यार्थी भर्ना र संचालन गरिरहेका यहाँका ३८ वटा अवैध निजी विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले खटाएको ६ वटा टोलीले गत असार ११ गतेदेखि बन्द गरेको थियो तर बन्द गरिएको ती विद्यालयहरु अनुमति बिनै पुनः संचालनमा आइरहेका छन् ।
टोलीले बन्द गरेका विद्यालयले अहिले खुल्लमखुल्ला भर्ना भएका विद्यार्थीको पहिलो त्रैमासिक परीक्षा लिइरहेका छन् । स्थानीय प्रहरीको रोहवरमा बन्द गराइएको अवैध विद्यालयहरुले संचालन गरिरहेको परीक्षा र त्यसप्रति जिल्ला शिक्षा कार्याल्यको मौनता देखेर निजी विद्यालयको संगठनहरु आश्चर्यचकित छन् । हामीले पटक–पटक बन्द गरिएको विद्यालयहरुले अटेर गरेर कक्षा र परीक्षा संचालन गरिरहेको जनाकारी जिल्ला शिक्षा कार्यालय र स्थानीय प्रहरी प्रशासनलाई गरेपनि कुनै वास्ता भएको छैन, प्याब्सन सिरहाका सचिव उमेश यादवले भने, ‘यदि यस्तै गर्नु थियो भने जिल्ला शिक्ष कार्यालयले किन अनुगमन र फर्जी विद्यालय बन्दको नाटक गर्नुपरेको ?’
दुई महिना अगाडी जिल्ला शिक्षा अधिकारी अरविन्द्रलाल कर्णले जिल्लाका सबै निजी विद्यालयहरुमा अनुगमन गरेर दर्ता नभएको ३८ वटा विद्यालय, अनुमतिभन्दा बढी कक्षा संचालन गरिरहेका एक सय आठ वटा विद्यालय फेला परेका थिए ।  फेला परेका ३८ वटा विद्यालयलाई तत्कालै बन्द गर्ने र अनुमतिभन्दा बढी कक्षा संचालन गर्ने विद्यालयलाई कानून अनुसार कारवाही प्रक्रियामा लग्ने निर्णय गत असार ७ गतेको जिल्ला शिक्षा समितिको बैठकले गरेको थियो ।
जिल्ला शिक्षा समितिको बैठकलगत्तै जिल्ला शिक्षा अधिकारी कर्णले पहिलो चरणमा दर्ता नभएका विद्यालय बन्द गर्न ६ वटा टोली गठन भएपछि करिब एक हप्तासम्म आफ्नो मोबाइलको स्वीच अफ गरेर जिल्ला बाहिर गएको थियो । जिशिअको अनुपस्थितिका कारण खटाइएका टोलीलाई काम गर्न अप्ठ्यारो भएपछि उनीहरुलाई प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । टोलीले बन्द गराएका विद्यालय फेरी संचालन भएको विषयमा जिज्ञासाका कारण जिशिअ कर्णसँग सम्पर्क गर्दा उनी सदरमुकामस्थित जिल्ला शिक्षा कार्यालयममा देखिएन् ।
उनको मोबाइल फोनमा सम्पर्क गर्दा मोबाइलको स्वीच अफ थियो । अवैध जिद्यालय बन्द गराउने टोलीमा खटितएका विद्यालय निरीक्षक भवानीप्रदा कट्टेलले भने, ‘बन्द गरेका अवैध विद्यालय पुनः संचालनमा आएको विषय सबैको लागि टाउको दुखाई बन्दै गएको बताए ।’ ‘उहाँसँग आज कुरा गरुला भन्थे तर उनको मोबाइल स्वीच अफ भएका कारण कुरा हुन सकेको छैन’, विद्यालय निरीक्षक कट्टलले भने, ‘उहाँसँग भेट भएपछि यो समस्याको विषय कुरा गर्नुपर्ला ।’
बन्द विद्यालय पुनः खुल्दै दर्ता नगरी संचालन भइरहेका सिरहाका अवैध विद्यालयहरु पुनः खुल्दै । लहानस्थित मेरी चिल्ड्रेन एकेडेमीको शाखा विद्यालयको रुपमा वस्तीपुरमा रहेको दर्ताबिनाको यो विद्यालय पुनः खुलेका छ । बिना दर्ताका ३८ वटा अवैध विद्यालयहरु बन्द गरिएपछि पुनः संचालनमा आएपनि जिल्ला शिक्षा कार्यालय सिरहाले कुनै वास्ता गरेको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »