नियम विपरित सञ्चालनमा रहेको क्रसर उद्योग सञ्चालनमा रोक

प्रकाशित समय 6:09:00 PM
खोटाङ, ५ साउन । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नियम विपरित सञ्चालनमा रहेको क्रसर उद्योग सञ्चालनमा रोक लगाएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित राँकेडाँडामा नियम विपरित सञ्चालनमा रहेको क्रसर उद्योग सञ्चालनमा रोक लगाएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रेका काम गरिरहेको ठेकेदारले अनाधिकृतरुपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएकाले क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । ऐतिहासिक तथा पर्यटकीयस्थल महुरेगढी नजिक डेढ वर्षदेखि सञ्चालनमा ल्याइएको क्रसर उद्योगले सदियौंदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने महुरेको अस्तित्व संकटमा परेकाले तत्काल क्रसर उद्योगलाई अन्यत्र हटाउन भनिएको हो ।
क्रसर उद्योगका कारण किराँत समुदायको साँस्कृतिक धरोहरकारुपमा रहेको राँके मेला लाग्ने चउरमा गिटी र ढुंगा थुप्रिएको छ । क्रसर सञ्चालकले स्थानीय सामुदायिक वनसँग सम्झौता गरेको भए पनि नगरपालिका, स्थानीय निकाय, वन कार्यालय लगायतको अनुमती बिना नै मनोमानीढंगले क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको नगरपालिकाले जनाएको छ ।
महुरे प्राकृतिक सामुदायिक वन नुनथलालाई वार्षिक ४० हजार र रातमाटे लुम्रे सामुदायिक वन बुईपालाई वार्षिक २० हजार दिने सम्झौतामा ठेकेदारले क्रसर उद्योग सञ्चालनमा ल्याएको हो । दुई सामुदायीक वन र ठेकेदारबीचमा ३ वर्षका लागि क्रसर सञ्चालन गर्ने सम्झौता भएको छ । सुरुमा क्रसरको विरोध गर्दा प्रशासनले समेत सञ्चालनका लागि दबाब दिएको रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेस राईले बताए । क्रसर सञ्चालनको विरोधमा बुईपाका बासिन्दाले क्रसरका सामान तोडफोड समेत गरेका थिए । क्रसर सञ्चालनका क्रममा आर्थिक चलखेल भएको स्थानीयको दाबी छ ।
‘हामीले सुरुमै यस ठाउँमा क्रसर राख्नु हुन्न भनेर विरोध गरेका थियौँ’ वडाध्यक्ष राईले भने, ‘तर उल्टै हामीलाई कमिसन खोजेको अर्थमा बुझियो, प्रशासनले नै दबाब दिए पछि हामी पनि चुप वसेका हौँ ।’ क्रसरका कारण डिलमुनि खसरेको ढुंगामाटोले रातमाटे लुम्रे सामुदायिक वनको केही भाग पुरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »