कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी

प्रकाशित समय 6:13:00 PM
बुटवल, २१ असार । बुटवल उपमहानगरपालिमा मेयर उपमेयरसहित ए
माले विजयी भएको छ ।  कांग्रेस माओवादी गठबन्धन भने निकै ठूलो अन्तरमा पराजित भएको छ । एमालेका तर्फबाट मेयरमा शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस माओवादी गठबन्दनका तर्फबाट कांग्रेसका खेलखाज पाण्डेले भने  २० हजार ८ सय ५१ मत ल्याएका छन् । उपमेयरमा एमालेका तर्फबाट गोमा (गुमादेवी) आचार्यले २५ हजार ३ सय १ मत ल्याएकी छिन् । माओवादी केन्द्रका जगतबहादुर पोखरेल भने १४ हजार ७ सय ९२ मतमा खुम्चिए ।
पछिल्लो जनगणना अनुसार एक लाख ३८ हजार ७ सय ४२ स्थायी जनसंख्या रहेको बुटवलमा ६६ हजार ६ सय ६३ मतदाता छन् । त्यसमध्ये कुल ४९ हजार ८ सय ९५ मत खसेको थियो । १९ वडा रहेको नगरमा १७ वडामा एमाले प्यानल विजयी भएको छ । वडा नम्बर १३ र १८ मा वडा अध्यक्ष र २ जना सदस्यले जीतेका छन् ।
बुटवल केन्द्रित क्षेत्रमा २०५१, २०५४, २०६४, ०७० मा भएका नगर, संसद, संविधान सभा जस्ता निर्वाचनहरुमा ठूलो मतान्तरमा एमाले विजयी भएको थियो । दोस्रो संविधान सभाको निर्वाचनमा यहाँबाट माओवादीका तात्कालिन नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार थिए । एमालेको वर्चश्व रहेको बुटवलमा जसरी पनि चुनाब जित्ने रणनीति कांग्रेसको थियो । यही रणनीति सफल पार्न माओवादी केन्द्रसँग तालमेल गरेको हो । नगरमा काग्रेसले प्रमुख उपप्रमुख पदमा माओवादी केन्द्रसित तालमेल गरेको थियो भने वडामा राष्ट्रिय जनमुक्तिसित तालमेल गरेको थियो । यद्यपि एमालेको बलियो संगठन थियो । यसैमाथि कांग्रेस बीचनै आपसी मत मतान्तर हुनु र माओवादी केन्द्रको फुटले यो सफल हुन नसकेको पूर्वसांसद रामचन्द्र भट्टराईले बताए ।
हारको कारण: प्रदेश टुक्राउने आन्दोलन
प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्याउने विषयमा यहाँका धेरै स्थानीय विरोधमा उत्रिए । त्यसको अगुवाई एमालेले गरेको थियो । स्थानीय एमालेकै पछि लागेर आन्दोलनमा उत्रिएका थिए । आफ्ना पार्टीका निर्णय अवज्ञा गर्दै कांग्रेस र माओवादीका नेता कार्यकर्ताहरु पनि आन्दोलनमा सहभागी भए । रुपन्देहीकै बालकृष्ण खाँण काग्रेसबाट रक्षा मन्त्री भएर पनि उनी प्रदेश टुक्राउने बारेमा बोलेनन् । माओवादी केन्द्रको नेतृत्वमा त सरकार नै थियो । यो हारको पहिलो कारण रहेको विश्लेषक युवराज कँडेल बताउँछन् ।
महानगरपालिका नबनाउने गल्ती 
उपमहानगरपालिकालाई महानगरपालिका बनाउने कुरामा पनि कांग्रेस नेतृत्वको सरकार चुकेको आरोप लाग्यो । बुटवलभन्दा कम पुर्वाधार भएका नगर महानगरपालिका बने । यसले धेरै बुटवलवासी यी दुई पार्टीसँग र कार्यकर्ता आफनै नेतासँग रुष्ट भए । सट्टामा एमालेले प्रदेश नम्बर ५ नटुक्राउने, प्रदेशको राजधानी बुटवल बनाउने र बुटवल, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका जोडेर महानगरपालिका बनाउने पहिलो प्राथमिकतामा राख्यो । धेरै मतदाता एमालेका यी एजेण्डाबाट प्रभावित भएको पूर्व सांसद रामचन्द्र भट्टराई बताउँछन् ।
महिला संवेदना
महिला संवेदना लिन नसक्नु गठबन्दनको अर्को गल्ती हो । नियममा एक दलले एक महिला उठाउनु पर्ने भएपनि गठबन्धनले प्रमुख उपप्रमुख दुवैमा महिला उमेदवार बनाएनन् । यसले दलभित्रकै महिला पनि रुष्ट भए । यो रुष्टता एमालेबाट उपमेयर पदकी उम्मेदवार गोमा आचार्यलाई मत दिएर पोखेको गैर सरकारी सस्था महासंघकी केन्द्रीय सदस्य सुमित्रा शर्मा बताउँछिन् ।
विकास योजना
यस क्षेत्रका सांसद विष्णु पौडेल अर्थमन्त्री भएका बेलो निकै ठूला र महत्वकांक्षी विकास योजना बुटवल र आसपासमा गरेका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ६ लेन बेलहीया बुटवल मार्ग, शान्ति मार्ग, लुम्बिनी पर्यटन मार्ग, बेलवास बेथरी सडकलगायत त्यसका उदाहरण हुन् । यसले विकास चाहाने युवा र व्यवसायीको मत एमालेले तानेको बुटवल नगरपालिकाका पूर्वउपप्रमुख विमलबहादुर शाक्य बताउँछन् ।
अव्यवस्थित वसोवासी 
बुटवलका ६६ हजार ६ सय ६३ मध्ये एक चौथाई मतदाता अव्यवस्थित वसोवासी हुन् । यस क्षेत्रमा एमालेको पकड छ । टोल समिति, वस्ती विकास समिति धेरैमा एमालेको वर्चस्व छ । कांग्रेस अव्यवस्थित क्षेत्रमा कमजोर छ । माओवादी केन्द्रका पक्षमा भन्दा फुटेर गएका माओवादी पक्षधर बढी छन् । यसले पनि गठबन्धनले जित्न नसकेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »