कमल थापाको आरोपः मधेसमा बिखण्डनकारी जन्माउने ठूला दल

प्रकाशित समय 7:32:00 PM
एस.के. शान
सप्तरी, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा प्रमुख तीन दलमाथि खनिएका छन् । ठूला दलले नै मधेसको माग पुरा गराउन नचाहेको तथा मधेसमा विखण्डनकारी जम्माएको पूर्व उपप्रधनमन्त्री समेत रहेका थापाको आरोप छ ।
राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले भने, ‘बर्तमान सरकार तथा कांग्रेस र माओवादी राजनीतिक स्वार्थमा चुर्लुम्म डुबेका छन् । यो स्वार्थले कतिको घाटा गराइरहेको छ भन्ने कुराको हेक्का राखेका छैनन् ।’
मुख्य दल आफ्नै स्वार्थमा रहेको भन्दै उनले यस्तै स्वार्थरुपी सोचले मधेसमा बिखण्डनकारी जन्माएको दाबी गरे । मधेसमा उदार राजनीति गर्नेहरुलाई राष्ट्रिय राजनीतिमा समाहित नगराउँदा यस्तो परिस्थिति बन्दै गएको दावी उनको थियो । ‘उदार राजनीति गर्नेलाई समयमै राष्ट्रिय राजनीतिमा समाहित गर्दै अघि बढ्नुप¥यो र बिखण्डनकारीलाई आइसुलेट गर्नुप¥यो’ उनले भने, ‘यस्तो गरेमा मुलुकले स्थायित्व प्रदान गर्छ ।’
कांग्रेस र माओवादीको चर्को आलोचना
राप्रपा अध्यक्ष थापाले सत्तारुढ कांग्रेस र माओवादीको चर्को आलोचना गरेका छन् । कांग्रेस–माओवादी संविधान संशोधन गरेर मधेसको मागलाई पूरा गर्ने मनसायमा नरहेको उनले बताए ।
‘संविधान संशोधनको पक्षमा मत हाल्ने पार्टीको सर्वसम्मत निर्णय नै भएको थियो, हाम्रा सांसद कसरी उपस्थित भएनन’ थापाले भने, ‘कांग्रेस र माओवादीको नियत नै ठीक छैन् । षडयन्त्र आफू गर्ने र दोष अरुलाई लगाउने काम उनीहरु गर्दै आएका छन् ।’ राप्रपाले संशोधन विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्ने दिनमै संशोधन पक्षमा सर्वसम्मत निर्णय गरेको बताउँदै थापाले भने, ‘कांग्रेस र माओवादी संशोधनको पक्षमा छँदैछैनन् ।’
स्थानीय तहको संख्या बृद्धि : कांग्रेस र माओवादीले नै बिगारे
पत्रकार सम्मेलनको अधिकांश समय कांग्रेस र माओवादीको बिरोधमा खर्चेका उनले मधेशका जिल्लाहरुमा स्थानीय निकायको संख्या बृद्वि दुई पार्टीले नै हुन नदिएको बताए । ‘स्थानीय निकायको संख्या बढाउन सर्वदलीय बैठक बस्दा एमालेले समेत मानिसकेको थियो’ उनले भने, ‘तर यही बीचमा दुई पार्टीका सांसदहरुले कसैसँग सल्लाह नै नगरी प्रधानन्यायाधीशबिरुद्व महाअभियोग प्रस्ताव ल्याएर मिलिसकेको कुरालाई बिगा¥यो ।’
सरकारले एकलौटी रुपमा २२ वटा स्थानीय तह बनाएपछि सर्वाेच्चमा उजुरी पर्दा रोक्का गर्ने आदेश सुनाएको बताए । सरकारले कुनै पनि बैठक व्यवस्थित र योजनाबद्व तरिकाले नगर्दा कुनै पनि समस्या समाधान नभएको बताउँदै यस्तो तालको बैठकमा जानै मन नलागेको बताए ।
एक छिनमै कुरा फेरे
पत्रकार सम्मेलनमा थापाले मधेस र मधेसीको गुनगाण अत्यधिक गरे । उनले आफ्ना पार्टीको सांसदका कारण संशोधन प्रकृया नरोकिएको दाबी पनि गरे । थापालाई संचारकर्मीले प्रश्न गरे, ‘यदि सरकारले यो बीचमा संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेमा राप्रपाले के गर्छ ? उनले भने, ‘निर्णयार्थ पेश गर्ने बेलामा सोंच्छु ।’
‘तपाईंले मधेसको माग पूरा पनि हुनुपर्छ, राप्रपाका सांसदले अवरुद्ध गरेको होइन भक्नु भयो । अहिले फेरि सोच्छौं भनिरहनुभएको छ यो दोहोरो कुरा भएन् भन्ने प्रश्नमा उनले अर्काे कुरा खोले । थापाले भने, ‘हाम्रो पार्टीले पनि धर्म निरपेक्षा हटाएर हिन्दू राष्ट्र बनाउन संशोधन पेश गरेको छ नि ! त्यसमाथि पनि छलफल भए हामी सोंच्नेछौं ।’
पारपाचुकेको प्रमाण पत्र लिन बाँकी
अध्यक्ष थापाले सरकारसँगको समर्थन फिर्ता लिने समय आइसकेको समेत बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय दिने बताएपनि अन्तिम समयमा आएर बिर्सेको बताउँदै भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने समय आइसकेको छ । यसका निम्ति तिथी हेरिरहेको छु ।’ अदालतबाट पति र पत्नीले सम्बन्ध बिच्छेद गरिसेकपछि प्रमाण पत्र लिन जसरी बाँकी हुन्छ त्यसरी नै प्रमाण पत्र लिन मात्रै बाँकी रहेको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »