
संविधानको धारा २६९ र २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय निर्वाचन चिह्न प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । शमाले भने, ‘अब नयाँ पार्टी दर्ता हुने अनि नयाँ पार्टीको चुनाव चिह्न मतपत्रमा छापेर पहिल्यै घोषणा भएको निर्वाचनमा प्रयोग गर्ने भन्ने कुरा सम्भव छैन ।’
राजपा गठन हुनु पहिले राष्ट्रिय दलका रुपमा मान्यता पाएका छ दलमध्ये कुनै एक दलको निर्वाचन चिन्ह लिएर निर्वाचनमा जाने बाटो भने कानुनले खुला गरेको छ । मधेस केन्द्रित राजनीति गर्दै आएका छ दलबीच गत वैशाख ७ गते एकीकृत भएको राजपाले गत शुक्रबार नयाँ दलका रुपमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको हो ।
व्यवस्थापिका–संसद प्रतिनिधित्व गर्ने तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक) एकीकृत भएका हुन् । राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको मितिले ४५ दिनभित्र दल दर्ताको टुंगो लगाउनुपर्ने कानुनी व्यवस्थानुसार राजपाले बुझाएको दलको घोषणापत्र, विधानलगायत आवश्यक कागजातको अध्ययन भइरहेको आयोगले जनाएको छ । राजपाले आफ्नो दलको चुनाव चिन्ह छाता माग गरेको छ ।
