हरियो चुरा र मेहन्दीको व्यापार वृद्धि

प्रकाशित समय 5:57:00 PM
महोत्तरी, १ साउन । साउन महिना शुरु भएलगत्तै स्थानीय बजारमा हरियो रङका चुरा र मेहन्दीको व्यापार बढेको छ । यहाँका महिलाले साउन महिनाभर प्रायःजसो हरियो चुरा र मेहन्दी लगाउने गर्छन् । सदरमुकाम जलेश्वर, औरही, गौशाला, बर्दिबास, रामगोपालपुर लगायत हाट बजारमा सञ्चालित शृंगारिक पसलमा हरियो चुरा खरिद गर्नेको वृद्धि भएको छ । साउन महिना आएलगत्तै हरियो चुरा र महेन्दीलगायत अन्य शृंगारिक सामानको बिक्री राम्रो भइरहेको गौशाला बजारमा अञ्जली शृंगार पसल सञ्चालन गर्दै आउनुभएका रामधनी महतोेले बताए ।
हुन त हरेक याममा यस्ता सामग्रीको कारोबारमा वृद्धि भए तापनि साउनमा भने यस्ता सामग्रीको बिक्रीबाट मनग्य आम्दानी हुँदै आएको महतोले जानकारी दिए ।
साउन धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि आफूहरू हरियो चुरा लगाउँदै आएको गौशाला नगरपालिकाकी आरती सिंहको भनाइ छ । महिलाले लगाउने हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिएकाले हरियो चुराको महत्व साउनमा बढिरहेको सिंहले बताए । विवाहिताले पतिको सुस्वास्थ्य एवम् दीर्घायु र अविवाहितले सुयोग्य पतिको कामना गर्दै व्रत बस्ने चलन छ । यस महिनामा विशेष गरी प्रत्येक सोमबार महिला व्रत बस्छन् ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »