कुराकानीका क्रममा एमाले नेताहरुले अहिलेको संशोधन प्रस्ताव फिर्ता गरेर सहमतिका आधारमा अर्को प्रस्ताव ल्याउनुपर्ने धारणा राखेको उनले बताए । ‘संविधान संशोधनका लागि एमालेसँग कुरा गर्नुपर्छ भनेर मैले सरकारलाई भनेको छु । हामी पनि एमालेका बिभिन्न स्तरका नेताहरुसँग कुरा गरिरहेका छौ, ’ उनले भने,’ आवश्यक प¥यो भने म पनि एमाले अध्यक्ष केपी ओलीसँग ‘वान’टु‘वान’ कुरा गर्न तयार छु ।’

एमालेको मुख्य चासो पाँच नम्बर प्रदेश टुक्राउन नदिने रहेको भन्दै उनले अहिलेको संशोधनमा यो विषय नरहेकोले संशोधनमा सहयोग गर्नुपर्ने बताए । एमालेका कारण संविधान संशोधन हुन नसके आफूहरु यही एजेण्डा लिएर जनतामा जाने उनले बताए । कसैले आग्रह नगरे पनि एमालेले संविधान संशोधनका लागि एकतर्फी रुपमा सहयोग गरेर आफूलाई लागेको ‘मधेस विरोधी’ पार्टीको आरोप हटाउनुपर्ने उनको भनाई छ ।
राजपाबिना तेस्रो चरणको निर्वाचन नहोस
महतोले तेस्रो चरणको निर्वाचनमा राजपालाई बाहिर नराख्न सरकारसँग आग्रह गरे । प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षले समेत आठ,दश दिनभित्र संविधान संशोधन, स्थानीय तहको संख्या थप्ने, मुद्दा फिर्ता लगायतका माग पुरा गर्ने प्रतिबद्धता जनाएकोले त्यसलाई पुरा गर्नुपर्ने उनले बताए ।
‘दुई चरणको निर्वाचन भइसकेको छ। तेस्रो चरणको मिति सारिएको छ,’ उनले भने,‘ तेस्रो चरणको निर्वाचनमा हामीले भाग लिने वातावरण बनोस । यो दुई तीन महिनामा समस्या समाधान गरेर मात्रै अशोज २ गतेको निर्वाचन होस भन्ने हाम्रो विनम्र अनुरोध छ ।’
सरकार निर्माणका लागि गरेको कोशीश संविधान संशोधनका लागि गर्न सके दुई तिहाई पुग्ने उनले बताए । प्रधानमन्त्री बन्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ३ सय ८८ मत पाएका थिए । राजपाका तीन जना सांसद र कांग्रेस–माओवादीका छ जना गरी ९ जना सांसद प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित रहेका थिए । यो सबै संख्या जोड्दा संविधान संशोधनका लागि पर्याप्त हुने राजपाको भनाई छ ।
राप्रपालाई विश्वासमा लिइयोस्
महतोले संविधान संशोधनका लागि राप्रपालाई सरकारले विश्वासमा लिनुपर्ने बताए । ‘राप्रपाको ३७ भोट संशोधनका पक्षमा ल्याउन सरकाले पहल गर्नुपर्छ,’ उनले भने, ‘सरकारले त्यो काम गर्यो भने संविधान संशोधन हुन्छ, त्यो कुरा सरकारमा निर्भर छ ।’ संविधान संशोधनका विषयमा दोहोरो चरित्र नदेखाउन उनले सरकारसँग आग्रह गरे । संविधान संशोधन भयो भने त्यसको जस आफूले लिने अनि संशोधन भएन भने त्यसको दोष एमालेलाई दिने रबैया नदेखाउन पनि उनले कांग्रेस र माओवादीलाई सचेत गराए ।
अहिलेको समस्या समाधान भएन भने २०७४ माघ ७ गते यो संविधान असफल हुने उनले जिकिर गरे ।
