सरकारी जागिरमा दुई पटक असफल कोविन्द राष्ट्रपतिमा सफल

प्रकाशित समय 6:14:00 PM
रामनाथ कोविन्द भारतको चौधौं राष्ट्रपतिमा बिहीबार निर्वाचित भएका छन्। भारतीय जनता पार्टीले नेतृत्व गरेको गठबन्धनबाट उम्मेदवार बनेका कोविन्द कांग्रेस आई नेतृत्वको गठबन्धनकी उम्मेदवार मिराकुमारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् । गत सोमबार ४ हजार १ सय २० विधानसभा सदस्य र दुवै संसदका ७ सय ७६ जना सांसदले राष्ट्रपतिका लागि मतदान गरेका थिए । कोविन्दले खसेको मतमध्ये ६६ प्रतिशत पाएका छन् । उम्मेदवार बनेदेखि नै कोविन्दको जीत लगभग सुनिश्चितजस्तै थियो ।
१९४५ अक्टोबर १ मा उत्तरप्रदेशको कानपुरमा जन्मेका कोविन्दका बुवा किसान थिए । कानपुर विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका कोविन्दले लामो समय वकालतमा बिताएका छन् ।
कानपुर विश्वविद्यालयबाट स्नातक गरेपछि उनी भारतीय प्रशासन सेवामा जागिर खान दिल्ली गएका थिए । आइएएसको परीक्षामा दुई पटक फेल भएका कोविन्द तेस्रो पटकमा उर्तिण भएका थिए तर उनी प्रशासनको जागिर खान गएनन, वकालतमा आए ।
उनले भारतीय प्रधानमन्त्री मोरारजी देसाईको स्वकीय सचिवसमेत बनेर काम गरेका छन् । २०१५–२०१७ सम्म उनी भारतीय राज्य बिहारका गर्भनर थिए । उनले सन् १९९१ मा भारतीय जनता पार्टीको सदस्यता लिएका थिए । १९९८देखि २००२ सम्म उनी भाजपाको दलित मोर्चाका अध्यक्ष बनेर काम गरे । १९९४ मा उनी उत्तरप्रदेशबाट राज्यसभामाको सदस्यमा नियुक्त भएका थिए । उनी दुई कार्यकाल राज्यसभाको सदस्य भए । उत्तर प्रदेशमा बहुजन समाजवादी पार्टीकी अध्यक्ष एंव पुर्वमुख्यमन्त्री मायावतीलाई टक्कर दिन सक्ने नेताका रुपमा कोविन्दलाई लिने गरिन्छ। उनले शिक्षाका क्षेत्रमा गरेको कामको तारिफ गर्नेहरु पनि धेरै छन् ।
सन् २०११को जनगणनामा २० करोड १४ लाख विभिन्न जातका दलित समुदाय भारतमा बस्छन् । त्यो भारतको कुल जनसंख्याको १६.६ प्रतिशत हो । भारतका चार राज्यमा दलितहरु बसोबास गर्छन् । त्यसमध्ये उत्तरप्रदेशमा सबैभन्दा धेरै २०.५ प्रतिशत, पश्चिम बंगालमा १०.७, बिहारमा ८.२ र तमिलनाडुमा ७.२ प्रतिशत दलितको बसोबास छ ।
दलितका मुद्दामा प्रतीपक्षीलाई जवाफ दिनकै लागि भाजपाले कोविन्दलाई राष्ट्रपतिमा अघि सारेको थियो । भाजपाले कोविन्दलाई उम्मेदवार बनाउने भएपछि कंग्रेस आई गठबन्धनले पनि दलित महिला मिनाकुमारलाई उम्मेदवार छानेको थियो । दलितभित्र पनि कोविन्द कोली समुदायका हुन् ।
जितसँगै उनी भारतमा दलित समुदायबाट राष्ट्रपति हुने दोस्रो व्यक्ति भएका छन् । यसअघि आरके नारायण दलित समुदायबाट भारतको पहिलो राष्ट्रपति बनेका थिए ।–एजेन्सी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »