‘राजनीति छोड्न सक्छु, तर गजेन्द्र नारायण सिंहको नाम मेट्न दिन्नँ : अनिल झा

प्रकाशित समय 6:54:00 PM
काठमाडौं, २२ असार । बुधबार नै पार्टी दर्ता गर्नेगरी छलफल बढाएका राजपा नेताहरुले बिवाद बढ्दै गएपछि कुनै टुंगोमा नपुगि बैठक स्थगित गरेका थिए ।
यो विवादको केन्द्रमा राजपा अध्यक्ष मण्डलका नेता अनिल झा छन् । झाले राजपाको विधानमा मधेश राजनीतिको चर्चा गर्दा गजेन्द्र नारायण सिंह, राम जनम तिवारी र नेपाल सद्भावना परिषदको नाम छुटाउन नमिल्ने अडान लिएपछि विवाद चुलिएको थियो । झाले भने, ‘‘मधेस राजनीतिको कुरा गर्ने बित्तिकै सिंह र तिवारीको नाम आउँछ। उहाँहरूको नाम नलिकन मधेस राजनीतिको चर्चा पनि हुन सक्दैन । तर आज केही मधेसी नेताहरू दुबै नेताको नाम विधानमा राख्न चाहानु हुन्न ।‘
सिंह र तिवारीको नामको उच्चारण पनि अट्न नसक्ने पार्टीमा आफू पनि रहन नसक्ने उनले बताए । ‘‘मैले राजपा नेताहरुलाई भनिदिएको छु, म राजनीति छोड्न सक्छु तर गजेन्द्र नारायण सिंहको नाम नराखि मान्दिनँ,‘ उनले भने, ‘‘मैले यतिसम्म भनेको छु, मलाई राजपा अध्यक्ष मण्डलमा राख्नु पर्दैन, तपाईँहरु पाँच जना बस्नुहोस । म केन्द्रीय सदस्य मात्रै बन्न तयार छु ।’
तर मधेसमा चेतना र राजनीतिक जाँगरण ल्याउन अतुलनीय योगदान दिएका नेताहरुको अपमान आफूले नसहने उनले बताए । ‘उनीहरुको नाम राजपा बिधानमा राख्नु पर्छ, यो कुनै लेनदेनको कुरा हैन । यो ‘पोलिटिक्स‘को कुरा पनि हैन, यो हाम्रो सेनटीमेन्टसँग जोडिएको कुरा हो‘ झाले भने । २००९ सालमा नेपाली कांग्रेससँग राजनीतिक मदभेद भएपछि कुलानन्द झा र रामजनम तिवारी मिलेर तराई काँग्रेस गठन गरेका थिए । पार्टी गठनको केही समय पछि कुलानन्द झाले आफ्नो राजनीतिमा धेरै लगाव नरहेको भन्दै पार्टीबाट अलग बस्ने निर्णय गरे । झा संस्कृत भाषाका बिद्वान मानिन्थे ।
त्यसपछि झाको ठाँउ उनकै कान्छा भाई बेदानन्द झाले लिए । बेदानन्द त्यो बेला पटनामा बसेर पत्रकारिता गर्थे । उनी ईन्डियन नेशन भन्ने पटनाबाट प्रकाशित हुने अंग्रेजी पत्रिकाको सम्पादक थिए । बेदान्नद र तिवारी भएर २०१७ सालसम्म तराई कांग्रेस चलाए । ०१७ साालमा राजाले पहिलो निर्वा्चित प्रधानमन्त्री बिपी कोइरालालाई बर्खास्त गरी सत्ता हातमा लिए पछि तराई कांग्रेस बिघटन भएको घोषणा गर्दै बेदानन्द पञ्चायत छिरे । तिवारीले भने तराई कांग्रेस नेपाली कांग्रेसमा बिलय भएको घोषणा गर्दै कांग्रेस प्रवेश गरे र पंचायत बिरोधि आन्दोलनमा सहभागि भए ।
पञ्चायतको लामो शासनकालमा तराई–मधेसको पहिचानको आन्दोलन शिथिल रह्यो । २०४० सालमा नेपाली कांग्रेस सप्तरीका पूर्वसभापति गजेन्द्र नारायण सिंह र तिवारी मिलेर नेपाल सदभावना परिषद गठन गरेर नागारिकता लगायत मधेसका मुद्दामा काम गर्न थाले । २०४७ साालमा नेपालमा बहुदलीय ब्यवस्था गठन भएपछि परिषद नेपाल सदभावना पार्टीमा परिणत भयो । सिंह पार्टी अध्यक्ष बने भने तिवारी सो पार्टीका सर्वोच्च नेता बने । ‘तिवारी र सिंह मधेसको राजनीतिमा जुन लामो योगदान छ, त्यसलाई राजपाको बिधानमा दुई लाइनमा पनि समेटन नचाहानु दूर्भाग्य हो,‘ झाले भने । सिंहको मृत्यु पछि नेपाल सद्भावना पार्टी अनेक चिरामा बिभाजित भयो । पहिले त्यही पार्टीमा रहेर काम गरेका राजेन्द्र महतो, अनिल झा र सरिता मिश्र अहिले तीन फरक पार्टीमा छन् । पछिल्लो पटक संघीय सद्भावना पार्टी खोलेर सद्भावनाको बिरासतको दावी गरिरहेका झाले आफू मन्त्री हुँदा तिवारीको वीरगन्जमा र सिंहको राजबिराजमा सालिक स्थापना गर्न महत्वपूर्ण भुमिका खेलेका थिए । उनी अहिले गजेन्द्र नारायण स्मृती प्रतिष्ठानको अध्यक्ष पनि छन् । यो प्रतिष्ठानको चार करोड बराबरको अचल सम्पत्ति रहेको झाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »