
ज्योतिष सुरेश पाण्डेका अनुसार–जनकपुरसहित मिथिलाञ्चलका कुनै पनि परिवारमा शुक्रबार रक्षाबन्धन पर्व मनाएको सूचना प्राप्त भएको छैन । जानकी मन्दिरमा साउन शुक्ल पञ्चमीदेखि सुरु हुने झुलनोत्सवको समाप्ति पछि, रक्षाबन्धन पर्व मनाउने परम्परा रहँदै आएको छ । झुलनोत्सव साउन पूर्णिमाको पूर्वसन्ध्यामा समाप्त हुँदैछ । झुलनोत्सवको अवसरमा जानकी मन्दिरमा भएका राम, लक्षण, भरत, शत्रुघ्न तथा सीता, उर्मिला, माण्डवी र श्रुतिक्रृतिको प्रतिमालाई आकर्षक झुलामा राखी झुलाउने गरिन्छ ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले भने ’जनकपुरको परम्परा अनुसार पनि साउन पूर्णिमाको दिन रक्षावन्धन पर्व मनाउनु पर्ने हो ।’ पण्डित सुरेश पाण्डेका अनुसार साउन पूर्णिमाको राति चन्द्रग्रहण पर्ने भए पनि रक्षाबन्धन गर्न कुनै समस्या हुँदैन । उनले भने–‘चन्द्रग्रहण अबेर राति हुन्छ, जबकि रक्षाबन्धन बिहानै गरिन्छ ।’
यसबीच मुलुकमा धार्मिक तिथिसम्बन्धी निर्णय गर्ने पञ्चाङ्क निर्धारण समितिले मिथिलाञ्चलको रीतिरिवाज तथा परम्परालाई बेवास्ता गरेको भन्दै स्थानीय पण्डितहरुले आलोचना गरेका छन् । पण्डित देवेन्द्र मिश्रले यस भेगमा रक्षाबन्धन पर्व मनाइने साउन २३ गते पनि सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।
