
झुला घरमा रामसिताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुलामा राखी झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्ण्वले बताए । भगवान् रामसिता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन महोत्तरीको मटिहानीलगायत प्रायः अन्य मठमन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंघासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।
झुला उत्सवको शुरुवात परापूर्वकालदेखि नै भएको मानिन्छ । सन्त खुला चौरमा अथवा कुनै रुखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसैबेलादेखि शुरुवात भएको विश्वास पाइन्छ ।
सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा रहेको छ । झुलाका समयमा गाँउघरका र वरपरका श्रद्धालु जम्मा हुने भजनकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।
