
दरबन्दी पूर्णरुपमा खाली
अस्पतालमा करिब २२ परामर्शदाता चिकित्सक हुनुपर्नेमा हाल दुई जना मात्र छन् भने छ मेडिकल अधिकृतको दरबन्दीमध्ये दुई जनाले काम गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दयाशंकरलाल कर्णले जानकारी दिए । अर्थोपेडिक र जनरल सर्जनको दरबन्दीसमेत यहाँ पूर्णरुपमा खाली नै रहेको बताइएको छ ।
दुई करोड २४ लाख मूल्य बराबरको अत्याधुनिक उपकरण खरिद गरिएको र विभाग तथा मन्त्रालयबाट समेत उपकरण उपलब्ध भए पनि यहाँको अस्पतालमा विशेषज्ञको अभावका कारण ती सञ्चालनमा आउन नसकेको मेडिकल सुपरिटेन्डेन्ट डा कर्णले बताए ।
स्थानीयवासीको माग
स्वास्थ्य विभागबाट अस्पतालमा आएका सामान अलपत्र अवस्थामा रहेको हुनाले सञ्चालनमा ल्याउनका लागि तत्काल सरकार र सम्बन्धित निकायले विशेषज्ञ पठाउनुपर्ने स्थानीयवासीको माग छ । अस्पतालमा विशेषज्ञ चिकित्सक तथा विभिन्न सेवाको अभावमा जटिल प्रकृतिका बिरामी उपचारका लागि धरान, विराटनगर तथा भारतका दरभंगालगायत विभिन्न ठाउँका अस्पतालमा जान यस क्षेत्रका बासिन्दाको बाध्यता रहेकाले यसतर्फ सरोकारवाला र सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी रहेको अस्पतालका कुरुवा बताउँछन् ।
चारबुँदे सहमति
गत २०७३ मंसिरमा अञ्चल अस्पतालको अवस्था सुधारलगायत विभिन्न माग राख्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीले गरेको आमरण अनशनको १८औँ दिनमा तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले चारबुँदे सहमति गरेको थियो । सोही सहमतिका आधारमा नेपाल सरकार र स्वास्थ्य विभागले अत्यधुनिक उपकरण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई पठाइएको थियो ।
गर्मी बढेसँगै बिरामीको चाप

चिसो पिउनेको घुइँचो
अत्यधिक गर्मी बढेपछि बजार पसलमा चिसो पेय पदार्थ पिउनेको घुइँचो लाग्ने गरेको छ । त्यस्तै सरकारी कार्यालयमा समेत सेवाग्राहीको कमी आउन थालेको कार्यालयका कर्मचारी बताउँछन् । अत्यधिक गर्मीका कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा झाडापखाला, ज्वरो, विषमज्वरलगायत बिरामीको संख्यामा वृद्धि भएको छ ।
सर्पदंशका घटनामा समेत वृद्धि
त्यस्तै केही दिनयता गर्मीसँगै लगातार परेको वर्षाका कारण सप्तरीमा सर्पदंशका घटनामा समेत वृद्धि भएको छ । सगरमाथा अञ्चल अस्पतालमा दैनिक १५ देखि २० जना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
