२१ असार । दुई दिनदेखि लगातार परिरहेको पानीको कारण महोत्तरी जिल्लाको सदरमुकाम जोड्ने सबै सडकहरु हिलाम्मे भएपछि यातायात सेवा प्रभावित बन्न पुगेको छ ।

महोत्तरीको परिक्रमा सडक अन्तर्गतको जलेश्वर मटिहानी सडकखण्डको दुई ठाउँमा माटो राखिएको कारणले धेरै हिलो भएको छ जसले जान आउन समस्या उत्पन्न भएको मटिहानीका रंजित कापरले जानकारी दिए । समयमा निर्माण कार्य पुरा नहुँदा जलेश्वरदेखि मटिहानी सडकखण्डको बहुअर्वा चोक नजिकैको सडक हिलाम्य बन्न पुगेको छ । महोत्तरीको हुलाकी सडकमा पर्ने जनकपुर भिठामोड सडक, जलेश्वर सम्सी सडकको अवस्था समेत पानीले गर्दा हिलाम्य भई यातायात सेवा प्रभावित बन्न पुगेको छ ।
वर्षाका कारण सो सडकखण्डहरुमा हिलो र पानी जमेर सडकमा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकल समेत चलाउन नसकिने अवस्था छ । त्यसैगरी, सडकमा ओहोरदोहोर गरिरहने गाडीले छ्यापेको हिलोले बाटो हिंड्नै नसक्ने भएको स्थानीयहरुको भनाई रहेको छ ।
