
बोलबम मेलाको अवधिमा नेपालका सिरहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट गेरु वस्त्रधारी दर्शनार्थी आउने गरेका छन् । हलेसीमा घुमफिर गर्दै सामुहिकरुपमा उच्चारण गरिएको ‘बोलबम’ शब्दले हलेसी गुञ्जयमान बनेको छ । संख्या पनि उत्तिकै देखिन्छ । हलेसी मन्दिर व्यवस्थापन समितिका अनुसार अहिले दैनिक हजारदेखि दुई हजार दर्शनार्थीले हलेसीमा दर्शन गर्ने गरिरहेका छन् । साउनको सुरुवातसँगै उदयपुरको कटारी–घुर्मी–हलेसी सडक खण्डमा भारतीय नम्बर प्लेटका जीप र मोटरबाईकको बाक्लो आवत–जावत भइरहेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा हलेसी र बराहपोखरीमा साउनको प्रतेक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ ।
हलेसी र बराहपोखरीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् । हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ । ‘विशेषगरी हिमालतर्फ फर्केको श्रोतको शुद्ध पानी चढाउँदा चिताएको पुग्ने जनविश्वास छ,’ हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक भुजेलले भने, ‘हलेसीमा सोही अनुसारको पानी चढाउने गरेको देखिन्छ ।’ बोलबमको अवशरमा हलेसी आएका दर्शनार्थीका कारण हलेसीका साना तथा ठूला होटलहरु भरिएका छन् । ‘अहिले हलेसीको सबै होटलहरु भरिभराउ छन,’ नाछिरिङ होटल हलेसीका सञ्चालन खगेन्द्र राईले भने, ‘बोलबम मेला पनि जिल्लाको आन्तरिक आयश्रोतको माध्यम बन्दै गएको छ ।’ साउन लागेयता हलेसी र बराहपोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुषको चहलपहल हुने गरेको छ । स्थानीयका अनुसार हलेसी र बराहपोखरीमा बोलबम मेला लाग्ने प्रचलन भने केही वर्षअघि देखि मात्र सुरु भएको हो । तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी महादेव विकास समितिले जनाएको छ । तराईबाट सिधै कटारी–घुर्मी–जयरामहुँदै हलेसीसम्मको यातायात सेवा विस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको संख्या वर्षेनी बढ्दो रहेको छ ।
