पार्टी एकताको आयोगलाई औपचारिक जानकारी पठाउने दस्तावेजमा शरतसिंह भण्डारी र महेन्द्र यादवले मंगलबार राति नै हस्ताक्षर गरेका थिए । अरु अध्यक्षले बुधबार हस्ताक्षर गरे पनि अनिल झाले मानेका छैनन् । उनले एकीकृत पार्टीको प्रस्तावनामा सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको नाम राख्नुपर्ने अडान लिएका छन् । अरु नेताले भने मधेस राजनीतिमा थुप्रैको योगदान भएकाले सबै उल्लेख गर्न लाग्दा कोही न कोही छुट्न जाने भएकाले विवाद नगर्न आग्रह गरे । वैशाख ७ को पार्टी एकता घोषणा सभामा पनि अनिल झा अन्तिममा मात्रै पुगेका थिए । संयोजक महन्थ ठाकुरले पार्टी्भित्र आन्तरिक असन्तुष्टि रहेको खुलाउँदै प्राविधिक समस्या सल्टाउने बित्तिकै दल दर्ता हुने जानकारी दिए । पार्टी स्थापनाको अढाई महिनापछि राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरे पनि नेताहरुले यथास्थितिमा चुनावमा भाग नलिने दाबी छाडेका छैनन् । अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बिहानै देखि घोषणापत्र अन्तिम रुप दिन जुटे पनि समय नपुगेका कारण आयोग नगएको प्रष्टिकरण दिए । ‘बाहिर आएजस्तो असन्तुष्टि छैन, छवटा पार्टी मिलेर राजपा गठन भएकाले सबै कुरा मिलाउन समय लागेको हो,’ यादवले भने, ‘हिजो विधानमा सहमति गरिसकेका छौं, अब घोषणापत्र र केही प्राविधिक दस्तावेज मिलाएर हस्ताक्षर गर्न मात्रै बाकी छ ।’
राजपाले दल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रुप दिन प्रयास गरे पनि पार्टीको संगठन संरचना र जातीय प्रतिनिधित्वको विषयमा कचिंगल उत्पन्न भएपछि नेताहरुले तत्काललाई अन्तरिम विधान बनाएर समस्या सल्टाउने निर्णय लिएका हुन् । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पार्टीको पूर्ण विधान महाधिवेशनबाट अनुमोदन हुने भन्दै अहिलेलाई अन्तरिम विधान निर्वाचन आयोगमा पठाउने बताए ।
