चियाको व्यावसायिकखेती फस्टाउँदै मोरङमा

प्रकाशित समय 5:58:00 PM
पथरी, १ साउन । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् ।  तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु भएको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ ।
विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गरेको चियाखेती हाल ३०० रोपनीमा विस्तार गरेको छ ।
गाउँमा व्यावसायिक कामको कुनै सम्भावना नभएका बेला चियाखेतीमा लाखौँ रुपैयाँ खर्चिएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन् ।
वैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उनले चियाखेतीमा लगाएका छन् । नारायणले छ लाख बिरुवाको चिया नर्सरी राखेका छन् । चिया विकास बोर्डले रु दुई लाख अनुदान सहयोग गरेपछि उनी झनै क्रियाशील भएर चियाखेतीमा लागेका हुन् । उनी भन्छन, ‘चार रोपनीमा चियाको नर्सरीमात्र छ ।” अबको एक वर्षपछि दुई हजार रोपनीमा चिया विस्तार गर्ने महत्वकांक्षी योजना बनाउनुभएका राई चियाको बिरुवाको माग रामेछाप, सिन्धुली र नुवाकोटबाट पनि आएको बताउँछन् । गाउँमा पनि नारायण र उहाँकी पत्नी बिना खजुम राईको कामलाई पछ्याउने धेरै भइसकेका छन् ।’ उनी भन्छन, ‘सुरुका दिनमा चिया रोप्दा हाँसी उडाउनेहरु पनि अहिले चियाको विस्तारमा लागेका छन् ।’
अठार वर्षअघि उराठलाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्टि हुन नसकेको बताउँदै बिनाले भने, ‘द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्न झनै कठिन भयो । तर, पनि उनीहरु थाकेनन् ।’ उत्तरी मोरङको पहाडी गाउँ, न बाटो थियो न सञ्चार र सुरक्षा । तर पनि राई दम्पतीले चियाबाट प्राप्त सबै कमाइ त्यही डाँडामा खन्याए ।  अहिले चियाखेती हेर्न आउनेको घुइँचो लाग्न थालेको छ ।
उनी भन्छन्, ‘पैसा त कमाउन सकेको छैन, तर सम्मान र इज्जतबाट नै सन्तुष्ट छु ।’” उनको मातृभूमि टी स्टेट कम्पनीमा हाल रु तीन करोड ५७ लाख लगानी भइसकेको छ । वार्षिक चार हजार किलो ग्रिन टी उत्पादन गरिरहेको कम्पनीले आफ्नै प्रशोधन मेसिनबाट प्रशोधित ग्रिन टी (हरियो चिया)को उत्पादन गरिरहेको छ । हरियो चियाको माग उच्च भए पनि मागअनुसार उत्पादन गर्न नसकेको सञ्चालिका बिना खजुमले बताए ।
चिया बगानमा हाल गाउँकै ३२ जनाले रोजगार पाएका छन् । चियाखेतीमा लगातार लाग्नुभएका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो । पुरस्कृत भएपछि चियाखेतीप्रति उहाँको झनै लगानी र उत्साह बढेको छ ।  बिना भने, ‘धेरै जिम्मेवारी थपिएको छ । उनी त आजभोलि सामाजिक काम र चियाखेती विस्तारमै व्यस्त  हुन थाल्नुभएको छ ।’ नारायण राईको दम्पतीले चियाबाट चमत्कार देखाएपछि स्थानीयवासी बुद्धमान राई, डकलसिंह राईलगायत थुपै्र किसानले आफ्नो पाखोबारीमा पैसा फलाउन थालेको छ । डकल सिंहले भने, ‘भर्खरै सुरु गरेको छु । राम्रो भइरहेको छ ।’
उत्तरी मोरङका साविक आठवटा पहाडी गाविसमध्ये सबैभन्दा दुर्गम गाउँ विकास समिति हो, सिंहदेवी । विसं २०६८को जनगणनाअनुसार जम्मा दुई हजार ४७८ जनसंख्या रहेको सिंहदेवीमा ५६६ घरधुरी रहेका छन् । तर मोरङका अन्य पहाडी गाविसको तुलनामा निकै समृद्ध मानिएको सिंहदेवी गाविसबाट बसाइँ सर्ने क्रम रोकिएको छ ।
स्थानीयवासी मनोज अधिकारी भन्छन्, ‘सिंहदेवीमा जेफाल पर्यटन विकास संस्थाको गठनसँगै घरवास ‘होमस्टे’ सुरु भयो । होमस्टे, नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिस यहाँ जग्गा किन्न थालेका छन् ।’” उनले सँगै जोडिएको लेटाङभोगटेनी नगरपालिकाका केही वडामा अझै विद्युतीकरण हुन नसकिरहेका बेला सिंहदेवीमा विद्युत्भार कटौती नहुने गरेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »