जनकपुरमा १० वर्षमा ५१ किलोमिटर मात्र पक्की सडक

प्रकाशित समय 6:45:00 PM
जनकपुर, २८ असार । नेपालकै पुरानो शहरहरुमध्ये एक रहेको जनकपुरमा हालसम्म मात्र ५१ किलोमिटर भित्री सडक पीसीसी गरिएको छ । करिब ५८ वर्ष पूर्व नगरपालिका घोषित भएको जनकपुरमा ५१ किलोमिटर पक्कि सडकको सुविधा मात्र नगरबासीले उपभोग गर्न सकेका छन् ।
विक्रम संवत् २०१६ मा तत्कालीन सरकारद्धारा नगरपालिका घोषणा भएपनि नगर क्षेत्रका भित्री सडकको स्तरोन्नत्ति गर्ने काम पछिल्लो १० वर्षमा मात्र सुरु भएको हो । २०६४ सालदेखि नगर क्षेत्रको भित्री सडकको पीसीसी गर्ने योजना अनुरुप हालसम्म जम्मा ५१ किलोमिटर भित्री सडक पक्की गरिएको जनकपुर उपमहानगरपालिका कार्यालयले जनाएको छ । २०१७ असोज १६ गते नेपाल सरकारले उपमहानगरपालिका घोषणा गरेको जनकपुर हालसम्म पनि स्तरीय सडकको लागि संघर्षरत रहेको । देशकै पुरानो नगरपालिकाहरुमध्ये एक भएपनि अपेक्षाकृत रुपमा जनकपुरको विकास हुन सकेको छैन् ।
विकास निर्माणका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरिएपनि सडक निर्माण सहितको अन्य विकासका काम अघि बढ्न नसकेकोले सिमित स्रोत साधनको भरमा हालसम्म नगर क्षेत्रको ५१ किलोमिटर भित्री सडक मात्र पीसीसी गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरपालिका कार्यालयका इन्जिनियर वीरेन्द्र यादवका अनुसार चालु आर्थिक वर्षमा १० किलोमिटर भित्री सडक पीसीसी गरिएको छ । सर्वसाधारणको आवश्यकता तथा प्रमुखतालाई ध्यानमा राख्दै नगरक्षेत्रको भित्री सडक पीसीसी गर्ने योजनालाई महत्व दिदैं आईरहेको बताउंदै इन्जिनियर यादवले उपलब्ध स्रोत साधनको आधारमा विकास निर्माणको काम अघि बढाईएको जानकारी दिए । साविकको जनकपुर नगरपालिकामा जम्मा १ सय २४ किलोमिटर भित्री सडक मापन गरिएको छ ।
जसमध्ये हालसम्म ५१ किलोमिटर पीसीसी भएको छ । उपमहानगरपालिका घोषण भएपछि समावेश गरिएका गाविसका स्थानीयवासीहरु हालसम्म पनि पक्कि सडकको सुविधाबाट वञ्चित छन् । साविकमा १६ वार्ड रहेको जनकपुर उपमहानगरपालिका घोषणा भएपछि २६ वटा वार्डमा फैलिएको छ । उपमहानगरपालिकामा समावेश गरिएका साविकको गाविसका स्थानीयवासीहरुले करमा बढोत्तरी भएपनि सेवा सुविधामा कुनै बढोत्तरी नभएको गुनासो गर्दै आएका छन् । ३० प्रतिशत जन श्रमदानबाट उपभोक्ता समिति मार्फत भित्री सडक निर्माण गर्नुपर्ने उपमहानगरपालिकाको प्रावधान रहेको छ  । इन्जिनियर यादवका अनुसार पीसीसी सडक निर्माण कार्य आरम्भ गरिएपछि पछिल्लो १० वर्षमा प्रति किलोमिटर एक करोडको हिसाबबाट १० करोड निर्माणमा खर्च भईसकेको छ ।
यसमध्ये ३० प्रतिशत रकम श्रमदानबाट प्राप्त भएको हो । जम्मा खर्चको ३० प्रतिशत लगानी सम्बन्धित उपभोक्ता मार्फत गर्नुपर्ने व्यवस्था भएपनि अधिकांशक स्थानमा स्थानीयवासीहरुले लगानी गर्न तैयार नभएका कारण सडक निर्माणको रकम फ्रिज हुने गरेको इन्जिनियर यादवले बताए । औसतमा प्रत्येक आर्थिक वर्षमा जनकपुर उपमहानगरपालिकामा विकास निर्माणका लागि १४÷१५ करोड रकम विनियोजन गरिन्छ । विकास निर्माणको लागि पुँजीगत शीर्षकमा बजेट विनियोजन भएपनि बिजुली, सफाई कर्मचारीको तलब सहितको खर्च समेत यसै शीर्षकमा समायोजन गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । पक्की सडकको अभावमा नगरक्षेत्रमा चारैतिर वर्षायाममा हिलाम्य भएर सर्वसाधारणलाई आवतजावत गर्न समेत कठिनाई हुने गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »