सेनाको नेतृत्वमा चुरे क्षेत्रमा १६ हजार वृक्षारोपण

प्रकाशित समय 6:51:00 PM
जनकपुर, २६ असार । राजनीतिक परिवर्तनको आडमा पटक पटक भएको वन फडानीको कारण उजाड  बनेको चुरे क्षेत्रलाई पुनः हरियो बनाउन नेपाली सेनाको सप्ताहव्यापी अभियान अन्तर्गत विभिन्न जातका १५ हजार बढि रुख रोपिएका छन् । चुरेको भिरालो जग्गामा विभिन्न जातका विरुवाको १० किलो विजारोपण समेत गरिएको छ ।
महेन्द्रनगर स्थित गोरखनाथ गणका गणपति खेमराज शर्माका अनुसार चुरे क्षेत्रका १० हेक्टर जग्गामा टिक, मसला, जामुन, गोल्डमोहर, म्याङ्गोस्टीक, सतिसाल, शिरिष, खयरलगायतका १५ हजार ८ सय विरुवा वृक्षारोपन गरिएको छ भने भिरालो जग्गामा ५ किलो खयर र ५ किलो बबूलको विजारोपण गरिएको हो ।
जिल्ला वन कार्यालय धनुषाको सहयोगमा महेन्द्रनगरस्थित गोरखनाथ गणले सञ्चालन गरेको ‘गो ग्रीन क्याम्पेन’ अन्तर्गत गणेशमान–चारनाथ नगरपालिका–१ को तीनतल्ले स्थित चुरे क्षेत्रमा गत बुधवारदेखि सञ्चालित यो अभियान सोमवार विधिवत भयो । अभियानमा स्थानीय नागरिक, शिक्षक, विद्यार्थी, कर्मचारी, सेना, प्रहरी, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
चार दशक अघिसम्म साखु, सिसौ, खयर, कर्मा, जामुन, सतिसाल, साल, सिमललगायतका वहुमूल्य रुख विरुवाले ढाकिएको चुरे क्षेत्र अचेल उजाड छ । जंगल फडानीको कारण नाङ्गो बनेको चुरे पर्वत श्रृंखलाको भू–स्खलन (भू–कटान) तिव्र छ । चुरे पर्वतको वालुवा, गिटी, ढुङ्गा बर्षेनी चारनाथ खोलामा थुप्रिंदै छ । नदीको स्तर निरन्तर उभो लाग्दैछ । पानीको मुहान सुक्दैछ ।
गणेशमान–चारनाथ नगरपालिका–१ छघरियाका ७५ वर्षीय रामश्री यादवले भने, ‘चार दशक अघिसम्म चारनाथ खोला माथिको सम्पूर्ण डाँडा हरियो थियो । यहाँ विभिन्न जातिका रुख विरुवा, वनस्पतिका साथै हाती, वाघ, चितुवा, हरिनलगायतका जनावरहरु पनि पाइन्थे । चुरे क्षेत्रमा दिनमा आउँन पनि मानिसहरु डराउँथे ।’
मुलुकमा पटक पटक भएको राजनीतिक परिवर्तनको राम्रो प्रभाव जे सुकै भएपनि यसको दुष्प्रभाव भने चुरे वनले वेहोरेको बताइन्छ । २०३६ सालको जनमत संग्रहताका निर्दलीय व्यवस्थाको पक्षमा जनमत बनाउन चुरेको वन फडानी गराइएको थियो । २०४६ सालको जनआन्दोलनको क्रममा पनि चुरे फडानी भएको थियो । १० वर्षे माओवादी सशस्त्र युद्धको बेला पनि चुरे फडानी तिव्र बनाइएको थियो । २०६२÷०६३ को दोश्रो जनआन्दोलन ताका वन तस्करहरुले उत्पात नै मचाएका थिए । हतियारसहित वन फडानी गर्न आउने वन तस्करहरुले स्थानीय वन रक्षकहरुलाई हत्या समेत गरेको इतिहास छ ।
स्थानीय भिमनाथ पाठामगरका अनुसार २०६३ सालमा चुरे वन सुरक्षाको उद्देश्यले जिल्ला वन कार्यालय धनुषाको सहयोगमा स्थानीयवासीले ‘चुरेवन संरक्षण समिति’बनाएका थिए । संरक्षण समितिका सदस्यहरु राति जाग्राम बसेर वन रक्षा गर्थे । यसक्रममा सशस्त्र वन तस्कर तथा स्थानीयवासी बीच भएको भिडन्तमा एक वन तस्करसंगै स्थानीय रामजुलुम यादव र जुगेश्वर यादवको मृत्यु भएको थियो ।
माओवादी खुला राजनीतिमा आएपछि चुरे वन अतिक्रमण झन तिव्र भयो । आफूलाई माओवादी भन्ने सिन्धुली, रामेछाप, उदयपुर, काभ्रेलगायतका झण्डै एक हजार परिवार चुरे वन फडानी गरेर घरजम गरेका थिए ।
राजनीतिक आवरणमा चुरेको सात सय हेक्टर जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा खेत खाली गराउन स्थानीयवासी तथा जिल्ला वन कार्यालयलाई हम्मे परेको थियो । जिल्ला वन कार्यालय धनुषाका अधिकृत सुरेश शर्मा भन्छन, ‘उक्त जग्गा खाली गराउन झण्डै ७२ राउण्ड गोली चलाउनु परेको थियो । चुरे अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरुमा आगो लगाइएको थियो ।
तर, चुरे वनक्षेत्रको १९ सय विघा जग्गा नेपाली सेनाको भोगाधिकारमा आए यता चुरे वन कटानी भने रोकिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार हाल चुरे क्षेत्रको १३ सय विघा जग्गा ‘सैनिक फाइरिङ्ग  रेञ्ज’ प्रयोजनको लागि तथा ६ सय विगहा जग्गा आर्टीलरी प्रयोजनको लागि प्रदान गरिएको छ । गणपति खेमराज जोशीका अनुसार चुरे क्षेत्रमा सेनाले तिनतल्ले सुरक्षा गुल्मको निर्माण समेत गरेको छ ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम अन्तर्गत दुई वर्ष अघि चुरेको उपल्लो क्षेत्रमा वृक्षारोपन गरिएको थियो । सेनाको तिनतल्ले गुल्म निर्माण भए यता उक्त रुखहरु पुनः हुर्किन थालेको छ । चुरे क्षेत्रलाई पुनः हरियो बनाउने सेनाको अभियानबाट स्थानीयवासी खुसी छन् । स्थानीय रामश्री यादवले भने, ‘पुनः चालिस वर्ष पुरानो चुरे वन हेर्न पाउँछु भने आशा जागेको छ ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »