चरन क्षेत्रको अभावले सिरहामा भेडापालन व्यवसाय संकटमा

प्रकाशित समय 6:06:00 PM
गोलबजार, २१ असार । गाउँघरमा कुनै बेला आर्थिक सम्पन्नताको सूचक मानिने भेंडा पालन व्यवसाय संकटमा पर्न थालेको छ । व्यवस्थित चरणको अभाव र उनबाट राडीपाखी बनाउने जनशक्तिको अभाव भएपछि यो व्यवसाय संकटमा पर्न थालेको हो ।
बढ्दो शहरी विकास र जनसंख्याको चापले चरन क्षेत्र मासिनु पनि यो व्यवसाय संकटमा पर्नुको अर्को कारण हो । सिरहाको गोलबजार नगरपालिका १२ साबिक महनौर २ का उचित पालले भेंडा चराउन थालेको करिब ३० वर्षभन्दा बढी भैसक्यो । उनले अहिले भेंडा पालन व्यवसाय संकटमा पर्न थालेको बताए ।
‘चरन नै मासिंदै गएको छ, घाँसपात खोज्न पनि समस्या हुन थालेपछि भेंडा पालन व्यवसाय संकटमा पर्न थालेको छ,’ उनले भने । सडक किनार र खोलाको बगरमा भेंडा चराउने गरेको उनले थपे ।  आफ्नै बथानको एक सय २५ थान भेंडालाई जसोतसो पाल्दै आएका पालले जीविका चलाउने अन्य स्रोत नभएका कारण मात्रै यस व्यवसाय अंगालेको उनले बताए । उनले युवापुस्तामा यस व्यवसायप्रति आकर्षण घट्दै गएको उनको भनाई छ ।
महनौरमा मात्र उचितसहित उनका सहोदर भाई पुलकित पाल, श्रीराम पाल, सहदेव पाल, बीरेन्द्र कुमार पाल, दुःखन पाल, विन्देश्वर पाल र सिकिन्द्र पाल लगायतले करिब एक हजार थान लामपुच्छ्रो जातको भेंडा पालन गरेका छन् ।
दुःख गरेर पालेको भेंडाको उनबाट बनाइने राडीपाखीलाई आधुनिक कपडाले बिस्थापित गर्न खोजेको उनले बताए । ‘औजार पनि मासिन थालेको छ, वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिन थालेपछि बूढा पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा राडीपाखी बनाउन छोडिएको छ,’ उनले भने ।
राम्रो आम्दानी हुन छाडेका कारण भेडापालन संकटमा परेको उनले बताए । ‘हरेक भेंडाको चार–चार महिनामा उन काटिन्छ । एउटा भेंडाको करिब आधा किलोको दरले पनि एक सय २५ सवटाको ६३ किलो उन त्यसै फ्याँक्नु पर्छ’, उनले भने, ‘दुध बिक्रीबाट पनि खासै पैसा आउदैंन ।’ उचित र उनका भाई पुलकित लामपुच्छ्र्रे जातको भेंडाको बथान सिरहाको धरमपुर, गोविन्दपुर, फूलबरिया गा।वि।स।को मूलाबारी, मुकसार, चोहर्वा, बस्तीपुर, बन्दीपुर लगायतका ठाउँमा भेंडीखर्क सार्दै चराएर हरेक वर्ष चैततिर मात्र आफ्नो घर फर्किने रहेको छ ।
वर्षे खेती सिध्याएपछि साउनमा फेरि भेंडासँगै निस्किने भेडिहरहरुले आफ्नोसँगै गाउँलेहरुको पनि भेंडा चराईरहेका छन्। चरन मासिन थालेपछि भेडिहरहरुले सिरहाका पूर्व पश्चिम सडक किनार, खोलाको बगरमा भेंडा चराउने गरेका छन्।
सिरहाका लर्कन्हा, कल्याणपुर, मरेवासहित आधा दर्जन गाउँमा भेंडा पालन गरिने भएपनि अहिले महनौर, बेतौनामा मात्र सीमित भएको भेडिहरहरुले बताए । चरनको भरपर्दो व्यवस्था, पशु सेवा कार्यालयबाट आवश्यक सहयोग पाइए कमाउन घरखेत बन्धक राखेर विदेशिनु नपर्ने भेडिहरहरुको भनाइ छ । वशेषगरी तराई क्षेत्रमा बसोवास गर्ने पाल जातिका मानिसहरुले मात्र प्रायः भेंडा पालन गर्छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »