स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लाको एक तहमा प्रमुख र उपप्रमुख जितेर पूर्वनेपाली सेनासमेत रहेका हिरा केबट ‘राहुल’ले इज्जत जोगाएका हुन् । उनी ०५६र५७ साल तिर नेपाली सेनाको जागिर छाडेर माओवादी जनयुद्धमा होमिएका थिए । जनयुद्धकालका थुप्रै लडाईंका मोर्चा जितेका उनलाई स्थानीय तह निर्वाचनमा पनि हार व्यहोर्नु परेन ।
स्थानीय तह निर्वाचनमा केबटले रुपन्देहीको ओमसतिया गाउँपालिका जितेर माओवादी पार्टीको लाज जोगाए । उनी २ हजार ४ सय ४२ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मन्जित यादवले २ हजार ३ सय ११ मत प्राप्त गरेका थिए ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि माओवादीले नै जित हात पारेको छ । उपाध्यक्षमा सुन्दरमती हरिजनले २ हजार २ सय ६४ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अमृता उप्रेतीले २ हजार १ सय ७२ मत प्राप्त गरेकी छिन् ।
