शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएकोले आफूहरु अब एक हप्ताभन्दा धेरै कुर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘एक हप्ताभित्रपनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं, संसद नै छोडेपछि यो सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुन्छ।’
उनले संविधान संशोधन हुन नसके १२ महिनासम्म यो सत्तारुढ गठबन्धनसँग गरेको वार्ता निरर्थक हुने बताउँदै भने,‘जब वार्ता तथा सम्वादको कुनै औचित्य हुँदैन, अनि सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको तर अन्र्तवस्तुमा सहमति भए प्रस्तावको पक्षमा मतदान गरेर पारित गर्ने स्पष्ट पारे ।
यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने सरकारसँग पर्याप्त आधार रहेको स्पष्ट पारेका छन् । उनले भने,‘एक हप्ताभित्रै संशोधन प्रस्ताव पारित गराउने पर्याप्त आधारहरु छन् ।’ उनका अनुसार प्रस्ताव पारित हुने पहिलो आधार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको निकासको सूत्र रहेको छ ।
यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमति भएको तर अहिले सरकारले हतार गरेको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै भने,‘तेस्रो चरणको निर्वाचनपछि पास गर्दा राष्ट्रघाती नहुने, अनि त्यही प्रस्ताव अघि पास हुँदा कसरी राष्ट्रघाती हुन्छ ?’
उनले संविधानमा सर्व्स्विकार्य हुन नदिने एमालेको राण्नीति चाल चालेको समेत आरोप लगाए । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सकेसम्म एमालेको समर्थनमा नभए पनि दुई तिहाईले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरे ।
