शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै क्लबका अध्यक्ष १७ वर्षीय मो. जकाउल्लाहको अगुवाइमा थालिएको रिेले अनशनप्रति यहाँका नागरिक समाज र अधिकारकर्मीले समर्थन गर्दै ऐक्यवद्धता जनाएका छन् । सात दिनसम्म रिले अनशनबाट माग पूरा नभए दोस्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रम अघि बढाइने र आमरण अनसन गरिने १६ वर्षीय चितरन्जन दत्तले बताए ।
शैक्षिक क्षेत्रका विविध समस्या समाधानका लागि ०७३ जेठ २५ गते प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएपछि स्थानीय प्रशासनलाई स्मरणपत्र दिदैँ अनशन थालेको उनको भनाइ छ ।
अनसनकारीले बन्द हडतालबाट विद्यालयलाई अलग राख्नु पर्ने, पाठ्यपुस्तक समयमा उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरी मूल्य नियन्त्रण गर्नुपर्ने, शिक्षकको प्रमाणपत्र चेकजाँच गर्नुपर्ने, कक्षा १२ सम्मको रजिष्ट्रेशन र परीक्षा शुल्क निशुल्क गर्नुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह भौतिक संरचनायुक्त बनाउनु पर्नेलगायतका माग अघि सारेका छन् ।
यसैबीच जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दीपकुमार यादव र परीक्षा फाँटका प्रमुख विरेन्द्र चौधरीले अनशनकारीलाई भेटेर केही माग पूरा भएको र बाँकी मागका सम्बन्धमा आवश्यक पहल भइरहेको भन्दै अनसन स्थगित गर्न आग्रह गरेका छन् । अनसनकारीले भने सम्पूर्ण माग पुरा नभएसम्म अनशन जारी रहने बताए ।
