सवारी साधन चाँडै बिग्रने र हिलाम्मे सडकमा गाडी चलाउँदा हैरानी खेप्नुपरेपछि चालक सो सडकमा गाडी गुडाउन मान्दैनन् । सडकमा जताततै खाडल र पानी पर्नासाथ आउजाउ गर्न नसकिने तथा हिलोले हैरानी भोग्नुपरेपछि चालकदेखि यात्रुलाई सास्ती बेहोर्नुपरेको हो ।
जिल्लाका अधिकांश सडकमा ठूलाठूला खाल्डाखुल्डीका कारण अधिकांश सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेको चालकको भनाइ छ । यातायातका सवारी साधन सञ्चालनमा आउन नसक्दा मानिस सदरमुकाम जलेश्वरलगायत अन्य क्षेत्रमा पैदल हिँड्न बाध्य छन् ।
ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउन समस्या भएको ग्रामीण बस्तीका सर्वसाधारणको भनाइ छ । ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा वस्तुको मूल्यवृद्धि हुन थालेको छ । ग्रामीण सडक अवरुद्ध हुँदा स्वास्थ्योपचारदेखि अन्य अत्यावश्यक सेवाका लागि समस्या भइरहेको स्थानीयवासी बताउँछन् ।
जिल्ला समन्वय समिति (जिसस), परिक्रमा सडक परियोजना तथा सडक विभागलगायत निकायले सडकको मर्मतसम्भार तथा नयाँ सडक निर्माणका नाममा वर्षेनी करोडौँ रुपैयाँ खर्चिने गरेका छन् । तीनै निकायको आँकडालाई नियाल्ने हो भने पछिल्लो एक वर्षमा जिल्लामा सडकका नाममा झण्डै रु ५० करोडभन्दा बढी रकम खर्च हुने गरेको छ ।
खासगरी जिल्लास्थित कच्ची तथा कृषि सडकका लागि प्रत्येक वर्ष असार मसान्तमा जिससले ठूलो लगानी गर्ने गरेको छ । चालु आवमा पनि विदेशी संस्थाको सहयोगमा झण्डै रु दुई करोडभन्दा बढी लगानी गरिएको जिसस योजना शाखाले जनाएको छ । अझै पनि जिल्लाका कुनै सडकखण्डमा जिल्लावासी निर्धक्क र सामान्य रुपमा हिँडडुल गर्न नसकिने अवस्था छ ।
