पलट साउदीमा बिते, बीमा रकमले परिवार टुक्रियो

प्रकाशित समय 5:21:00 PM
रामप्रमेश मण्डल
सप्तरी, ६ साउन । छोरा गुमाएको पीडा बिर्सन सकेका छैनन् त्यसमाथि बीमा रकमले पलट यादवका बुवाआमालाई कहिल्यै बिर्सन नसक्ने पीडा दिएको छ । किनकी छोराको ज्यान गएपछि बीमा बापत आएको पैसाले परिवार छुट्टिएको छ । सुकदेव र तारादेवीले  घर चलाउन पैसाको जोहो गर्न छोरालाई २०७२ असोजमा साउदी अरब पठाएका थिए । पलट विदेश गएको केही दिनमै बिरामी परे ।  कम्पनीले अस्पताल भर्ना गरेपछि पलटले आफ्ना दुबै मृगौला फेल भएको थाहा पाए । अस्पताल भर्ना भएको दुई महिना हुँदा पनि उनलाई बीसको उन्नाइस भएन ।
उपचार गर्दा पनि समस्या कम नहुँदा पलटलाई जति तनाव थियो परिवारमा पनि त्यो भन्दा धेरै तनाव थियो । त्यसैले छोरालाई घरमै ल्याएर उपचार गर्न पलटका बुवाआमाले उनलाई पठाउने एजेण्टलाई पनि भने । एजेण्टकै सहयोगमा काठमाडौंमा रहेको म्यानपावरै पुगेर हारगुहार गरेपछि २०७२ को माघमा पलटलाई घर त फर्काइदियो तर पलटको ज्यान आधा सुकिसकेको थियो । त्यसैले ५ कठ्ठा जग्गा साहुको नाममा पास गरिदिएर उपचार गरे तर केही लागेन । घर फर्किएको दुई महिनामा पलटको ज्यान गयो ।
छोरो नरहेको जस्तै चिन्ता पलटका बुवाआमालाई उसलाई पठाउँदा र उपचार गर्दा लागेको ऋण तिर्ने कुराले पर्न थाल्यो । त्यसैले उपाय खोज्ने क्रममा पलटका बुवाआमाले विदेशमा मृत्यु भएकाका परिवारले बीमा बापतको रकम पाउने जानकारी पाए । त्यसैले सप्तरी सामुदायिक विकास केन्द्र नेपालले सञ्चालन गरेको वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श केन्द्र सप्तरीको सहयोगमा प्रक्रिया सुरु गरेका पलटका परिवारले बीमा गरे वापत ५ लाख ५० हजार रुपैयाँ पाए ।
तर त्यो पैसाले परिवारको समस्या समाधान हुनुको साटो उल्टो बल्झियो । बीमा बापतको रकम के गर्ने भन्ने सासुससुरा र बुहारीको कुरा मिलेन । सासु ससुराले बीमा बापतको पैसा छोराको उपचारको लागि लिएको ऋण तिर्ने र बन्धकी राखेको जग्गा फिर्ता गराउने योजना बनाएका थिए । ‘त्यही जग्गामा खेतीपाती गरेर परिवार चलाउन सकिन्छ भन्ने सोचेका थियौं’ सुकदेवले भने । त्यसबाट बचेको पैसा चाहिँ नातिनीका लागि खर्च गर्ने घर सल्लाह पनि गरेका थिए ।
तर उनीहरुको सोच बुहारीसँग मिलेन । एक त  २१ वर्षकै उमेर श्रीमान गुमाएको थियो त्यसमाथि छोरीको पढाइलेखाइको चिन्ता पनि थियो । त्यसैले श्रीमानको बीमा बापतको रकम ऋण तिर्न र जग्गा फिर्ता गर्न खर्च गर्दा छोरीको भविष्य समस्यामा पर्छ भन्ने चिन्ता छ उनको । त्यसैले उनले सासु ससुराको प्रस्ताव मानेनन । उनी अहिले माइत गएर बसेको छ ।
उनले यदी त्यो पैसा जग्गा फिर्ता गर्ने काममा लगाउने भए जग्गा छोरीको नाममा पास गर्नुपर्ने बताएको थियो सासु ससुरासँग । यही कुरा नमिलेपछि उनी घर छोडेर माइत गएको हो । ‘बीमा बापत पाएको रकम पनि घरायसी काम मै लगाएपछि बच्चाको भविष्य के होला अन्योलमा छु ।’ सजनीदेवीले भने ।  यदी कुरा मिले आफू अहिले पनि परिवारसँगै बस्न तयार रहेको बताइन । तर उनीहरुबिच कुरा मिल्ने अवस्था छैन ।
पलटका बुवाआमा यस बारेमा कुरा गर्न खोज्दा सम्धी सम्धिनीले कुरा गर्नै नचाहेको बताए । छोरालाई विदेश पठाउन र उसको उपचारको लागि ४ लाख रुपैयाँ जति ऋण लागेको उनीहरुको भनाई छ । अहिले मासिक सयकडा ३ रुपैयाँ दरले ब्याज तिरिरहेको सुकदेव यादव भन्छन्  ‘साहुलाई ऋण नफर्काए भएको जग्गा पनि डुव्ने भयो । अनि परिवार पनि भाँडियो । आखिर त्यति पैसाले जिन्दगी पनि त चल्दैन ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »