
जिल्लामा गत वर्षको तुलनामा आधा धान उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ । वर्षा नभएर खडेरीको अवस्थामा हालसम्म जिल्लामा २५ प्रतिशत मात्र रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले बताए । बेर्ना तयार भइसके पनि वर्षाको अभाव र सिँचाइ असुविधाका कारण किसानले एकातर्फ रोपाइँ गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ रोपिएका बेर्ना पनि सुक्ने खतरा बढेको ठाकुर बताउँछन् ।
गत वर्ष धनुषामा धानको राम्रो उत्पादन भएको थियो । समयमै वर्षा हुँदा जिल्लामा दुई लाख २५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो तर यस वर्ष यस्तै अवस्था रहे एक लाख मेट्रिनभन्दा कम हुने सरकारी अनुमान छ । जिल्लामा कुल ७६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६४ हजार पाँच सय हेक्टरमा धानबाली लगाइन्छ तर सिँचाइ सुविधा २५ हजार हेक्टरमा मात्र उपलब्ध छ । किसानले आफ्नो निजी लगानीमा मोटर लगाएर खेतमा पानी पु¥याई धान उत्पादन गरे पनि त्यसको उचित भाउ पाएका छैनन् ।
यसले गर्दा पनि धानखेतीमा किसानको आकर्षण घटेको डेवहिडाका किसान शिवशंकर झा बताउँछन् । सरकारले किसानलाई सिँचाइ सेवा उपलब्ध गराउन खासै पहल गरेको छैन ।
