काठमाडौं, १७ असार । पूर्वउपराष्ट्रपति परमानन्द झाले मधेशको राजनीतिबारे चिन्ता व्यक्त गरेका छन् । अहिले भर्खरै नेपालमा सम्पन्न दुई चरणको स्थानीय तहको निर्वाचनबाट मधेशीहरु दुःखी रहेको बताए ।
स्थानीय तहको निर्वाचनको प्रसंगमा पूर्वउपराष्ट्रपति झाले असन्तुष्टि व्यक्त गर्दै यस्तो बताएका छन् । उनले अहिले दुई चरणमा भएको स्थानीय निर्वाचनबाट मधेशमा निराशा छाएको बताए । यसबाट मधेशको राजनीति दिनप्रति दिन बिग्रिदै जाने दाबी गरेका छन् ।

न्यूज २४ टेलिभिजनमा साप्ताहिकरुपमा प्रसारण भइरहेको मिथिला दर्शन कार्यक्रमलाई उचित समय नदिइएकोमा गुनासो समेत पोखेका छन् । मिथिलाको सभ्यताबारे मिथिला क्षेत्रमा छुट्टै टेलिभिजनको स्थापना हुनुपर्नेमा जोड दिए । उनले मिथिलाको ऐतिहासिक संस्कृतिको संरक्षणका लागि प्रचारप्रसार हुनुपर्नेमा जोड दिए ।
मिथिला दर्शनका प्रस्तोता वीरेन्द्र ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, मिथिला म्यानपावर सर्भिसेज प्रालिका सञ्चालक बबनकुमार सिंह, शिव शिष्य परिवारका ओमप्रकाश सिंह, नयाँ शक्ति पार्टी नेपालकी सदस्य ममता मण्डल, सार्क लिग पिपुल्स फोरम नेपालका महासचिव सन्तोष घिमिरे, माओवादी केन्द्रका नेता भरतप्रसाद साह र राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत गिरीलगायतका उपस्थिति रहेका थिए ।
मिथिला क्षेत्रको विकास, प्रचार प्रसार तथा प्रवद्र्धनका लागि विशेष योगदान दिएको भन्दै मिथिला दर्शन कार्यक्रमले पूर्वउपराष्ट्रपति झाको हातबाट सम्मानित गरेको छ । कार्यक्रममा सम्मानित हुनेहरु मनोज यादव, जितन यादव, शोभा गिरी, खुमा मराठा र सुमित्रा देवी रहेका छन् ।
