सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा काँग्रेसको एक हजार ५९९ र एमालेको दुई हजार ४०४ मत आएको छ । नगरको वडा नं. १ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी वडामा पनि एमालले नै बाजी मार्ने मतगणनाको नजिताले देखाइरहेको छ ।त्यसैगरी दमकमा हालसम्मको परिणाममा एमालेको ५१६ र राप्रपाको ५१२ मत रहेको छ । अध्यक्ष ओलीकै नगर दमकमा एमालेले अपेक्षित अग्रता लिन नसकेको प्रष्ट देखिन्छ । एमाले राप्रपासँग चार मतले मात्र अगाडि देखिन्छ । त्यसैगरी, काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र एमालेका रविन कोइराला रहेको मेचीनगरमा पनि दुवै पार्टीबीच उस्तै प्रतिस्पर्धा देखिन्छ ।
नेकपा एमालेको विरासत मानिएको नगरमा पनि कांग्रेसले यसपटक आच्छु आच्छु बनाइरहेको देखिन्छ । शनिबार बिहानसम्म झिनो मतले अग्रता लिएको काँग्रेसलाई ९ बजेपछि आएको परिणामले एमालेको अग्रता देखाएको छ । झापामा राप्रपा पनि अगाडि छ । उसले दुईवटा वडामा अध्यक्ष र दुईवटा गाउँपालिकामा अग्रता कायम गर्दै लगेको छ । झापामा नेकपा माओवादी केन्द्रले भने अझै पनि कुनै पनि नगरपालिका र गाउँपालिकामा अग्रता लिन सकेका छैन ।
