अब इटहरी पनि हर्न निषेधित क्षेत्र

प्रकाशित समय 6:16:00 PM
सुनसरी, १९ साउन । सुनसरीको इटहरीलाई पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा इटहरी चोक क्षेत्र बिहिबारबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । बिहीबार एक कार्यक्रम आयोजना गरी इटहरीको पश्चिम लाईनस्थित कलंकी चोकमा इटहरीका मेयरले हर्न निषेधित अकिंत बोर्ड लगाएर यसको घोषणा गरेका हुन् । इटहरीको पूर्व जुटबिकास चोक, पश्चिममा कलंकी चोक, उत्तरमा नेपाली सेनाको पूर्वी पृतना कार्यालय र दक्षिणमा साथी फियुलसम्म भित्र हर्न निषेधित क्षेत्र तोकिएको छ । यस क्षेत्रभित्र कुनै पनि सबारीले हर्न बजाए ५ सयदेखि एकहजार सम्म नगद जरिवाना गरिनेछ ।
व्यवस्थापिका संसदको बिकास समिति र ट्राफिक निर्देशनालयले देशभरका मुख्य शहरहरुमा यो अभियान संञ्चालन गर्ने बताउदै आएका छन् । सोही अनुरुप पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले इटहरीलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
हर्नका कारण अस्पताल, बिद्यालय, कलेज तथा कार्यालयहरुमा अनावश्यक ध्वनी प्रदुषण हुने गरेको,स्वास्थ्यमा असर देखिएको र ट्राफिक नियमको पालना गराउन अभियान लागु पारिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी शौरभ राणाले बताए । राणाका अनुसार एक महिनाभित्र सरोकारवाला निकायहरुबिच छलफल गरेर घोषणा गरिएको हो । हर्न निषेधित क्षेत्र जानकारीका लागी इटहरीका चार स्थानमा सानाठुला ३४ वटा होर्डिङ बोर्ड राखिने एसपी राणाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »