संसदद्वारा संविधान दोस्रो संशोधन विधेयक अस्वीकृत

प्रकाशित समय 5:28:00 PM
काठमाडौं, ५ भदौ । नेपालको संविधान दोस्रो संशोधन विधेयक ब्यवस्थापिका संसदबाट अस्वीकृत भएको छ । कानुनमन्त्री यज्ञबहादुर थापाले प्रस्तुत गरेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव  संसदको आजको बैठकले बहुमतले अस्वीकृत गरेको हो ।
विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेपछि सभामुख ओनसरी घर्तीले विधेयक अस्वीकृत भएको घोषणा गरे । विधेयक पारितका लागि संसदमा हाल कायम ५ सय ९२ सदस्य संख्या मध्ये ३ सय ९५ मत आवश्यक थियो । संसदको आजको बैठकमा उपस्थित ५ सय ५३ जना सांसद मध्ये २ सय ६ जनाले बिपक्षमा मतदान गरेका थिए ।
प्रमुख प्रतिपक्षी एमाले, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायत दलले विधेयकको बिपक्षमा मतदान गरेका थिए । नेकपा मालेले भने मतदान प्रक्रियामै सहभागी नहुने भन्दै बहिष्कार गरेको थियो । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत दलहरुले विधेयकको पक्षमा मतदान गरेपनि आवश्यक मत भने पुग्न सकेन । विधेयकको बिपक्षमा मतदान गर्न राप्रपाले आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो ।
आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको वातावरण निर्माणका लागि भन्दै सरकारले संशोधन विधेयक संसदको सोमबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरेको थियो । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजपा सांसद लक्ष्मणलाल कर्णले विधेयक असफल भएपछि निर्वाचनमा सहभागी हुने नहुने बारे पार्टीले मंगलबार निर्णय गर्ने जानकारी दिए ।
सरकारी विधेयक असफल भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले भने सरकारमाथि नैतिकताको प्रश्न उठाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सरकारले सो बारे सोच्ने बेला आएको बताए । विधेयकमाथि दुई तिहाई पु¥याउन बारम्बार गरेको दलीय प्रयास असफल भएप्छि सरकारले संसद सचिवालयमा दर्ता गरेको चार महिनापछि मात्र विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गरेको थियो ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालले समेत विधेयक पास फेल जे भएपनि स्थानीय तह निर्वाचनमा सहभागी प्रतिबद्धता जनाएपछि सरकारलाई विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्ने बाटो खुलेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »