घूससहित कर्मचारी पक्राउ

प्रकाशित समय 7:19:00 PM
रौतहट, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको टोलीले ३५ हजार घूससहित जिल्ला शिक्षाका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
शिक्षा कार्यालयका सबओभरसियर ललनकुमार सिंह सदरमुकाम गौरको बीपीचोकस्थित चिया पसलमा श्री मावि माधोपुरका पूर्व प्रअ रामउगार यादवबाट शुक्रबार घूस लिँदै गर्दा पक्राउ परेका हुन् । २ वर्षअघि अवकाशप्राप्त यादव विद्यालय भवन निर्माण, मर्मत सम्भारलगायत कामको हिसाब फर्स्योट गराउन जिल्ला शिक्षा धाइरहेका थिए ।
सबओभरसियर सिंहले बिल भर्पाईमा सही गर्न घूस मागेको सूचना पूर्वशिक्षक यादवले अख्तियारलाई दिएका थिए । घूस लेनदेन गर्न मिलाइएको समयमा अख्तियारको टोली पुगेर उनलाई नियन्त्रणमा लिएको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले बताए । ‘ललन दिउँसो एक बजेसम्म कार्यालयमै उपस्थित थिए,’ उनले भने, ‘चिया खाने बहानामा निस्केका उनी यसरी पक्राउ परेका हुन् ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »