सांसदहरु बेपता हुँदा मधेशी थारु र मुस्लिम विधेयक अलपत्र

प्रकाशित समय 5:22:00 PM
काठमाडौं, २१ साउन । व्यवस्थापिका संसदको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट सांसदहरु नै बेपता भएपछि विधेयकहरु अलपत्र परेका छन् । शुक्रबार बैठकको कार्यसूचीमा मधेशी आयोगसहितका आयोगहरुको विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । संसदमा ४ सय ७७ जना सांसदहरुले हाजिरी गरे तर विधेयकहरु पारित गर्ने बेलामा जम्मा ९७ जना सांसदहरु सदनमा उपस्थित थिए ।
संविधानको धारा ९४ को व्यवस्था अनुसार प्रस्ताव निणयार्थ पेस गर्दा कम्तिमा एक चौथाई सदस्य हुनुपर्छ । संसदमा हाल कायम रहेको संख्या अनुसार प्रस्ताव अघि बढ्न १४८ सांसद् हुनुपर्छ तर जम्मा ९७ जना भेटिए । हाल सदनमा ५९२ सांसद् छन् ।
सांसद्ले संसद् बैठकमा उपस्थित भई हाजिर गरेबापत बैठक भत्ता स्वरुप एक हजार रुपैयाँ पाउने व्यवस्था छ । तर, महत्वपूर्ण विधेयक पारितकै दिन सांसद्हरु बेपत्ता भएका हुन् ।
शुक्रबारको बैठकमा जातीय भेदभाव तथा छुवाछुत कसुर सम्वन्धी विधेयक संशोधन दर्ताका लागि अनुमोदन अघि नेमकिपाका डिल्लीप्रसाद काफ्लेले कोरमको प्रश्न उठाउनु भएको थियो । काफ्लेको ध्यानाकर्षणपछि सभामुख ओनसरी भर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर कोरम यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएको थियो ।
समितिमा दफाबार छलफल पछि थारु आयोग, मधेशी आयोग र मुस्लिम आयोगको विधेयक पारित गर्नका लागि कार्यसूचीमा राखिएको थियो । तर सांसदहरु बेपता भएपछि विधेयकहरु अलपत्र परेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »