मालपोत कार्यालय चावहिलका १० कर्मचारी विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

प्रकाशित समय 6:09:00 PM
काठमाडौं, १४ भदौ । ख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका १० जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्मचारीको मिलेमतोमा काठमाडौं जिल्ला साबिकको गोठाटार, बालुवा, मुलपानी, विष्णु गाविस लगायतका स्थानमा रहेका जग्गाको गैरकानुनी श्रेस्ता तयार गरी बिक्री वितरण गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तीर्खाराम अर्यालसहित कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल, नायब सुब्बा सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी, कम्प्युटर अपरेटर लक्ष्मण प्रसाद खतिवडा र खरिदार दीव्य राज घिमिरेविरुद्ध मुद्दा गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुले जग्गाको गैरकानुनी रुपमा श्रेस्ता खडा गरी कार्यालयमा रहेको दर्ता बाँकी श्रेस्ता केरमेट गरेर प्रमाणित गरी वैधानिक रुपमा निर्णय नै नभएका जग्गाको विवरण ठीक छ भनि रुजु र स्वीकृत गरी भ्रष्टाचार गरेको अख्तियारको भनाई छ । यस्तै दर्ता नै नखुलेका र नभएका जग्गाको अनलाइन सिस्टममा प्रबृष्टी समेत गरी बदनियतपूर्वक दर्ता नभएको फर्जी श्रेस्ता खडा गरी वैधानिकता प्रदान गर्ने गराउने र बिक्री बितरण गर्ने कार्यमा संलग्न भएका कर्मचारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ अनुसार बिगो माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
यस्तै कार्यालयका सहयोगी राजेन्द्र बस्नेतले दर्ता बाँकी जग्गाको श्रेस्तामा नाम उल्लेख भएका व्यक्तिको खोजतलास गरी आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई जग्गा दर्ता गरिदिने प्रलोभनमा पारी जग्गाधनीहरु हरिनारायण श्रेष्ठ, हरिलाला श्रेष्ठ, होमबहादुर बिष्ट, धर्म महर्जन, श्यामसुन्दर दाहाल, विश्वनाथ लामिछाने र ध्रुवराम श्रेष्ठसँग १८ लाख ८२ हजार घुस रकम समेत कर्मचारीले लिएको अख्तियारको दाबी छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »