सञ्चारकर्मीलाई आयल निगमका कार्यकारी निर्देशक खड्काको चुनौती

प्रकाशित समय 5:45:00 PM
पोखरा, ३ भदौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद प्रक्रियालाई रोकेर देखाउन चुनौती दिको छ ।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघको १२ औं साधारणसभा तथा छैठौं महाधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रममा खड्काले स्टोरेज बनाउन सरकारको निर्देशन भएकाले कसैले रोक्न नसक्ने दावी गरे । उनले भने,  ‘कत्रो अक्षरमा लेख्नसक्नुहुन्छ लेख्नुस् । निगमले ५ वर्षभित्र स्टोरेज बनाएरै छाड्छ । हामीलाई सरकारको निर्देशन छ ।’
निगमको जग्गा खरिदमा भ्रष्टाचार भएको ठहर संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएपनि सो बिषयमा सरकारले मौनता देखाउँदै आएको छ । ५ वर्षभित्र ९० दिनका लागि पुग्ने भण्डारण गृह बनाउन आफ्नो बलिदानी दिन पनि तयार रहेको बताउँदै कार्यकारी निर्देशक खड्काले भने, ‘स्टोरेज बन्छ, बनाउनुपर्छ र त्यो जसरी पनि बनाइने छ । त्यसको लागि ज–जसले बलिदानी दिनुपरेपनि दिउँला । सबभन्दा पहिले त मैले पर्ला, त्यसको लागि पनि म तयार छु ।’
पेट्रोलियम पदार्थ ढुवानी कम्पनीलाई ठेक्कामा दिन टेन्डर आह्वान गर्नेबारे निगमले कुनै गृहकार्य नगरेको बताउँदै खड्काले पेट्रोलियम पदार्थ ढुवानीलाई अझै सहज बनाउन र व्यवसायको सुनिश्चितता गर्ने विषयमा आयल निगम संवेदनशील रहेको दावी गरे । साधारण सभा उद्घाटन गर्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयभित्रका विकृति, अनियमितता र अव्यवहारिक कुरामा कुनै पनि हालतमा सम्झौता नगर्ने बताए ।
पेट्रोलियम पदार्थ ढुवानीमा देखिने नोक्सानिको स्थायी समाधान आवश्यक रहेको बताउँदै मन्त्री मण्डलले हाल व्यवसायी र सरकारबीच झारा टार्ने सहमति मात्रै भएकाले आवश्यक प्रविधि र प्राविधिक ल्याएर भएपनि स्थायी समाधान खोज्ने आश्वासन दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »