पानी परे एक्लिन बाध्य हुन्छ विहिबारे र अम्बास

प्रकाशित समय 6:11:00 PM
कमलेश यादब
सिरहा, २५ साउन । सिरहाको तल्लो भागमा आवश्यकता अनुसार वर्षा नहुँदा धान रोपाईं अगाडि बढ्न सकेको छैन तर सिरहाकै माथिल्लो चुरे क्षेत्रका विहीवारे, अम्बास र हातिढुङ्काका बासिन्दाहरु त्यही वर्षा भए एक्लिने हो कि भन्ने त्रासले त्राहिमाम छन् । उनीहरुको त्रासको एक मात्र कारण हो वस्ती छेउको सर्रे खोला । पहिले चुरेको गोरेटो बाटो कट्दै पुर्व पश्चिम लोकमार्गको सिरहा खण्डको धनगढी तथा जिरोमाइल पुग्ने उनीहरुलाई सिरहा क्षेत्र नं. ४ का निर्वाचित साँसद रामचन्द्र यादवको वहुवर्षीय योजनाले सहज सडक सुविधा उपलब्ध गराएको छ तर वस्तीसम्म पुग्न पार गर्नुपर्ने सर्रे खोला भने उनीहरुको टाउको दुखाई बनेको छ ।
चुरे क्षेत्रमा आउने थोरै मात्र वर्षाले सर्रे खोलामा बाढीको ठूलो भेल बग्ने गरेको छ । झन लगातार हुने मौसमी वर्षाले सर्रे पारीको विहीवारे, अम्बास, हातिढुङ्कालगायतका वस्तीहरु सर्रेमा आउने बाढीले कैयौं दिनसम्म थुनिनु पर्ने बाध्यता छ । त्यतिखेर वस्तीका कसैलाई पनि रोगब्याधि र सर्पले नडसोस् भनेर हामी भगवानसँग प्रार्थना गरी बस्छौ, अम्बासका स्थानीय बासिन्दा शंकर राईको दुखेसो छ, त्यतिखेर विहीवारे बजारमा रहेको एक मात्र स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी आइदिंदैनन्, विद्यालयमा पढाउने शिक्षक घरमै बस्छन् अनि खोलाले बाटो बन्द गरेका कारण खाद्य सामग्रीको ढुवानी पनि बन्द हुन्छ ।
यो अवधिको लागि त जसोतसो अन्न जोहो गरेर हामी बसेका हुन्छौं तर केही भइपरी आउने सङ्कट निम्त्यो भने हामीसँग सर्रेको बाढीसँग जुध्नुभन्दा अर्को उपाय रहदैन, अम्बासकी इन्दिरा जर्घा मगरले भने, पछिल्ला वर्षहरुमा यही कारण वर्षाको समयमा छ्यास्छयास्ती पाइने सर्पको डसाइबाट वस्तीका निकैले ज्यान गुमाइसकेका छन् ।
पहिले विष्णुपुरकट्टी गाविसको ३ नम्बर वडामा पर्ने विहीवारे, अम्बास, हात्तिढुङ्कालगायतका वस्तीहरु अहिले धनगढीमाई नगरपालिकाको १४ नम्बर वडामा परिणत भएपछि नगरपालिकाले सर्रे खोलामा पुल बनाउने बजेट कतैबाट ल्याइदिन्छ कि भनेर सर्रे पारीका बासिन्दाहरु आस लिएर बसिरहेका छन् । नभन्दै सर्रे पारी कार्यक्रम लिएर जाने सरकारी र गैरसरकारी कार्यालयका कर्मचारी तथा भोट माग्न जाने राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई त्यहाँका बासिन्दाले एउटै स्वरले भन्ने गर्छन् ‘हजुर ! नगरपालिका भएपछि गोरेटो बाटो ठूलो भयो अब यो सर्रेमाथि पुल बनिदिए हाम्रो पनि सुखको दिन आउथ्ये कि ।’
लोकमार्गदेखि उत्तरतर्फको वस्ती विकासको लागि सर्रे खोलामाथि पुल बन्नु अति आवश्यक छ, धनगढीमाई नगरपालिकाका कार्यकारी अधिकृत रामहरि शर्माले भने, यसपालिसम्म सर्रेमाथि पुल बनाउने कुनै योजना छैन तर अब निर्वाचनपछि बस्ने नगर सभाले सर्रेमाथि पुल बनाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावना बढ्दो छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »