

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दासका अनुसार शनिबार दिउँसो सिरहा नगरपालिका–१४ खिरौनाकी करिब २६ वर्षीया महिलालाई पनि बेहोस अवस्थामा सिरहा अस्पतालमा ल्याइएको जानकारी दिए । डा. दासले बेहोस महिलाकी आफन्तलाई उद्धृत गर्दै शौचालय जाने क्रममा बेहोस भएको र घरका मानिसले उठाएर ल्याउँदा केही कपाल काटिएको भन्ने सुनाएको बताए । ‘चिकित्सा विज्ञानको आधारमा हिँड्दा हिँड्दै वा सुतेको समयमा कपाल काटिने गरेको भन्ने विषयले महिलामा परेको मनोवैज्ञानिक भय हटाउन जरुरी छ’ डा. दासले भने ।
भारतमा महिलाको कपाल अज्ञात व्यक्तिले काट्ने गरेको हल्ला फैलिएपछि सिरहामा पनि त्यसको असर परेको देखिएको छ । आफ्नो कपाल काटिनबाट जोगाउन पछिल्लो समयमा प्रायः हरेकले अरुको आँखा नलागोस् भन्दै घरको ढोकामा लसुन, खुर्सानी, निमको पात, कागती झुन्ड्याउन थालेको स्थानीय बताउँछन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले कपाल काटिन्छ भन्ने महिलाहरुमा परेको मनोवैज्ञानिक त्रासले आतंक फैलिएको सुनाए । परिवारका सदस्य, आफन्तजनले त्यसको विषयमा महिलालाई परामर्श दिनुपर्ने प्रहरी नायव उपरीक्षक पाण्डेले बताए । महिलाको कपाल काट्ने घटनामा कसैको हात हुन सक्ने अनुमान पनि गर्न थालिएको छ । कुनै ठाउँका महिला स्वयंले आफ्नो कपाल काटेर आतंक फैलाउन खोजेको हुन सक्ने आशंका गरिएको भए पनि त्यसको पुष्टि भने हुन सकेको छैन ।
