जीर्ण कारागारका कोचाकोच कैदी

प्रकाशित समय 6:04:00 PM
गोलबजार, २० साउन । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा कोचिएर बस्नु परेको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरु कारागारभित्रको आँगनमै सुत्न बाध्य छन् । पानी पर्ने बेलामा पालो लगाएर सुत्नु परेको उनीहरुले बताए ।
१ सय ३५ पुरुष र १५ महिला कैदीबन्दी राख्न सक्ने कारागारको क्षमता भएपनि दोब्बरभन्दा बढी राखिएको छ । जसका कारण बस्ने र सुत्ने ठाउँ अभाव हुँदा कैदीबन्दी कष्टसाथ सजाय भुक्तान गरिरहेका छन् ।
कारागार प्रमुख जेलर शंकरलाल कर्णका अनुसार डेढ सय क्षमताको कारागारमा २ सय ९६ पुरुष र २१ महिला छन् । कारागारभित्र ९ कोठा छन् । तीन वटा महिला राख्ने कोठासहित एउटा पुस्तकालय छ । पुस्तकालय कोठामा समेत कैदीबन्दी भरिभराउ सुत्छन् । जसका कारण कैदीबन्दी पुस्तक अध्ययन गर्नबाट वञ्चित हुन परेको श्रीदेव कापरले सुनाए ।
उनले कैदीबन्दी बस्ने र सुत्ने ठाउँ अभावकै कारण कोचिएर बस्न बाध्य भएको जानकारी दिए । गर्मीको मौसम, अर्काेतिर कोचिएर बस्नुपर्ने बाध्यता छ, उनले भने, पानी पर्दा रातभर सुत्न पाइँद ैन, भवनसमेत जीर्ण भएकाले मन त्रास भएरै बसेका छौं ।
कारागारमा कैदीबन्दीले भोग्नुपरेको समस्याबारे कारागार अनुमगनमा आउने दलका नेता, अधिधकारकर्मीलगायत प्रशासनलाई जानकारी गराए पनि कहिल्यै सुनुवाई नभएको उनले बताए । ठाउँ अभावकै कारण पुस्तकालय कोठामा समेत कैदीबन्दी राख्न बाध्य छौं, कारागार प्रमुख कर्णले भने, सबै कोठा भरिभराउ भएर पनि पुस्तकालयमा समेत नअटेपछि आँगनमा कैदीबन्दीलाई सुताउनुपरेको छ ।
जीर्ण भवन
सिरहा कारागारको भवन जीर्ण बन्दै गएको छ । ०२८ सालमा स्थापित कारागारको चारैतिर लगाइएको पर्खाल जीर्ण भइसकेका छन् । करिब २० फिट अग्लो र २० इन्च मोटो ईटाको पुर्खाल कमजोर भइसकेको छ । जेलर कर्णले कारागार जीर्ण भइसकेको तत्काल मर्मत सम्भारका लागि माथिल्लो निकायमा जानकारी गराइएको बताए । माथिल्लो निकायबाट मर्मतका लागि कुनै सुनुवाई नभएको उनले बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »