
उनकै कुरामा थपे स्थानीय भनमन्ता राम उनको दुखेसो पनि उस्तै छ । उनले पनि एक साता अगाडि आएको बाढीबाट पूर्ण प्रभावित भए पनि राजनीतिमा फरक आस्थाकै कारण राहत पाएन । यी दुई त्यो ठाउँका लागि उदाहरणको पात्र मात्र हुन । उनीहरू जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवार राम बस्तीले अहिलेसम्म राहत पाएका छैनन् । सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।
एक साता अगाडि आएको बाढीबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरूलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय सुवालाल रामले बताए । वडामा नेकपा (एमाले) विजयी भयो, तर वडा अध्यक्षले राहतै नदिएको स्थानीय मोहमद जावेद अख्तर बताए । यता वडा अध्यक्ष मोहमद सुल्तान त्यो कुरालाई ठाडै अस्वीकार गरे ।
आफूले वडागतरुपमा राहत वितरण गर्दै आएको उनले बताएको छ । आफूले राहतमा कुनै राजनीति नगरेको उनले बताए । आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको उनले प्रतिक्रिया दिएको छ ।
तर वडा अध्यक्ष सुल्तानको कुरालाई स्वीकार गर्न तयार छैनन् स्थानीय । आफू राहत वितरण गरिरहेको बेला राहतका लागि वडा कार्यालयमा गएको र राहत माग्दा तैले अर्कै पार्टीलाई मतदान गरेका कारण दिन नमिल्ने प्रतिक्रिया पाएको रामले दुखेसो पोखे ।
गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरूलाई राहत र बसोबासको वातावरण मिलाइदिन माग गरेका थिए । त्यसैले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
