कांग्रेसको जन्म र कर्म मधेसमै : प्रधानमन्त्री देउवा

प्रकाशित समय 6:22:00 PM
जनकपुर, २० साउन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी, नेपाल तेस्रो चरणको निर्वाचनमा भाग लिने दाबी गरेका छन् । शुक्रबार यहाँको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘सरकार संविधान संशोधनलगायत राजपाले उठाएका मुद्दाहरु संबोधन गर्न इमानदार प्रयास गर्दैछ । आफ्नो जनमत जोगाउन पनि राजपा निर्वाचनमा आउँछ ।’
कांग्रेस धनुषामा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरेको दुई नम्बर प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई संबोधन यहाँ आएका प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचनमा राजपा तथा माओवादी केन्द्रसँग मिलेर जान सक्ने संकेत गरे । उनले भने ‘कांग्रेस राजपा र माओवादी केन्द्रसँग मिलेर जान सक्छ ।’
कांग्रेसको जन्म र कर्म दुबै मधेसमै भएको उल्लेख गर्दै प्रम देउवाले प्रदेश नम्बर दुईको निर्वाचनमा कांग्रेस १ सय २७ मध्ये १ सय तहमा विजयी हुने दाबी गरे । सरकारको कामकाज प्रभावकारी भएन भने जिज्ञासाको जवाफमा उनले प्रतिप्रश्न गरे, ‘शान्तिपूर्वक निर्वाचन गराउनु सरकारको प्रभावकारी काम होइन ?’
राप्रका नेताहरुको कारण संविधान संशोधन हुन नसकेको आरोप लगाउँदै कांग्रेस सभापति देउवाले भने ‘राप्रपा नेताहरु मधेसमा आएर कांग्रेस संशोधन गराउन चाहेन भने आरोप लगाउँछन् अनि संशोधनको बेला उनीहरुकै सांसद हराउँछन् ।’ मधेसी जनताले कांग्रेसलाई किन भोट दिने ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने ‘मधेसको पहिचान, अधिकार, विकास, निर्माणको कुरा गर्ने कांग्रेस अनि मधेसी जनता अरु कस्लाई भोट दिन्छन् त ?’
पत्रकार सम्मेलनमा कांग्रेस नेताहरु विमलेन्द्र निधि, प्रदीप गिरी, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, कांग्रेस धनुषाका सभापति रामसरोज यादवलगायतको पनि सहभागिता थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »